काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले आफ्नो आलोचना गर्ने अर्थशास्त्रीहरुलाई कुन विश्वविद्यालयमा पढेको भनी प्रश्न गरेका छन् । नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको बृहत् आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले त्यस्तो प्रश्न गरेका हुन् ।

उनले बाह्य कारण अर्थतन्त्रमा असर परेको तर ती अर्थविद्हरुले व्यक्तिगत रुपमा आफ्नो विषयमा नकारात्मक टिप्पणी गरेको गुनासो गरे । ‘केही विद्वान साथीले गरेको टिप्पणी सुनेको छु । कुन विश्वविद्यालयबाट ज्ञान हासिल गर्नुभएको हो, थाहा छैन । त्यो विश्वविद्यालयको नै बेइज्जत हुने देख्छु,’ उनले भने ।

सो कार्यक्रममा उनले आगामी आर्थिक वर्ष ०७९–८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताएका छन् । उनले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको वातावरण, निजी क्षेत्रमैत्री लगायत विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताए ।

‘किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाऊन् । हामी यो दृष्टिकोण राखेर बजेट निर्माणमा केन्द्रित छौं,’ उनले भने ।

अहिलेको अर्थतन्त्रबारे धेरै चिन्ता भइरहेको भन्दै बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गरे । ‘म बजेटमार्फत किसानको बाँझो खेततर्फ फर्केन चाहन्छु, त्यता नफर्की उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिँदैन भन्ने लाग्छ,’ उनले भने, ‘निर्यात विस्तारै बढाउँदै लैजानुपर्छ । निर्यात बढाउन हामीसँग उत्पादनको अथाह सम्भावना छ ।’

चालु आर्थिक वर्षको ८ महिनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको बताए । चालु आर्थिक वर्षको ८ महिनासम्ममा निर्यातले नयाँ कीर्तिमान राख्दै १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको भन्दा ८२.९० प्रतिशत बढी हो ।

उनले बढ्दै गएको व्यापार घाटा कम गर्न थप के कस्ता काम गर्न सकिन्छ भनेर सुझाव पनि मागे । ‘आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्छ । हाम्रो साधन स्रोतको अधिकतम प्रयोग गरेर पुँजी निर्माण गर्नुपर्नेछ । तर गर्ने कसरी ? मलाई यस विषयमा सुझाव चाहिएको छ,’ उनले भने ।

२५ भदौमा सार्वजनिक प्रतिस्थापन विधेयकमार्फत चालू आबको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने लक्ष्य लिएको र स्थिति सामान्य भएको भए लक्ष्यभन्दा बढी आर्थिक वृद्धिदर हासिल हुने स्थिति रहेको उनले बताए । ‘तर बजेट घोषणालगत्तै केही समयपछि कात्तिक पहिलो साता बेमौसमी वर्षाले धान बालीमा ठूलो क्षति भयो । अहिले युक्रेन–रुस युद्धले विश्व अर्थतन्त्रसँगै नेपालको आयातमुखी अर्थतन्त्रलाई पनि असर गरेको छ,’ उनले भने, ‘यसरी बाह्य कारणले ठूलो असर गर्दा हामीले सोचेजस्तो आर्थिक अवस्थामा देशको अर्थतन्त्रलाई राख्न नसकिएको विषय सबैले बुझ्नुपर्छ ।’

उनले सरकारले नियमन गर्न सक्ने ठाउँसम्म पुगेर अर्थतन्त्रलाई सम्हालिरहेको पनि जानकारी दिए । साथै, ६.७ महिनासम्मको वस्तु तथा सेवा आयात गर्न धान्ने विदेशी मुद्रा सञ्चित रहेकाले अहिले नै आत्तिनुपर्ने अवस्थामा नरहेको बताए ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बाह्य तत्वको असरका कारण अर्थतन्त्र दबाब परेको बताए । उनले देशभित्रै उत्पादन र रोजगारी वृद्धि गर्नुपर्ने बताए । ‘केही वस्तुको आयातमा प्रतिबन्ध र आयातमा थप कडाइ गर्न विभिन्न क्षेत्रबाट सुझाव आए पनि अर्थतन्त्रलाई सकेसम्म खुल्ला छाड्नुपर्छ, नियन्त्रण गर्नु हुँदैन भन्ने सरकारको नीति छ,’ उनले भने ।

कार्यक्रममा आर्थिक संघका अध्यक्ष तथा वरिष्ठ अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले दुई अंकको आर्थिक वृद्धिदरसमेत सम्भव भएको भन्दै अर्थतन्त्रलाई विस्तार गर्न सुझाए । उनले क्रिप्टोकरेन्सी, हाइपर फन्ड लगायतबाट पुँजी पलायन भइरहेको भन्दै नियमनका लागि सशक्त कदम चाल्नुपर्ने बताए ।

कार्यक्रममा अर्थशास्त्रीहरु प्राडा गोबिन्द नेपाल, डा पोषराज पाण्डे, केशव आचार्य र व्यवसायी पवन गोल्यानले विभिन्न सुझाव पेस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय