काठमाडौं– खानेतेल निर्यातमा आएको उच्च गिरावटले नेपालको कुल निकासी घट्दै गएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा पोहोरको सोही अवधिको तुलनामा निकासी ३३ प्रतिशतभन्दा बढीले घटेको तथ्यांक सार्वजनिक भएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनदेखि कात्तिक मसान्तसम्ममा निकासी ३३.३० प्रतिशतले घटेर ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । पोहोर सोही अवधिमा नेपालबाट ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजार रुपैयाँ बराबरको वस्तु विदेश निर्यात भएको थियो ।

भारतले खानेतेल आयातमा लगाएको उच्च शुल्क घटाएपछि नेपालको निकासी खस्किएको हो । भारतले खानेतेल आयातमा उच्च शुल्क लगाए पनि नेपालबाट निकासी हुने तेल आयात गर्दा भारतीय व्यापारीले साफ्टा सुविधाअन्तर्गत नगन्य शुल्क तिरेर पुग्थ्यो । सोही अवसरको फाइदा उठाउन नेपाली व्यवसायीले विदेशबाट कच्चा तेल आयात गरी प्रशोधन गरेर भारत निकासी गर्थे । त्यसले गर्दा निकासीको ग्राफ बढेको थियो ।

तर, गत चैतदेखि भारतले खानेतेल आयातमा लाग्ने उच्च शुल्क घटाएपछि भारतीय व्यवसायीले अन्य मुलुकबाटै कच्चा तेल आयात गरी प्रशोधन गरेर आन्तरिक बजारमा बेच्न थालेका छन् । नेपालीको तुलनामा भारतमै प्रशोधित तेल सस्तो पर्न थालेपछि नेपालबाट हुने निकासी खस्किएको हो । कतिपय व्यवसायी त सस्तो पर्ने हुँदा भारतबाटै नेपालमा खानेतेल आउने बताउँछन् ।

उनीहरुका अनुसार सीमावर्ती बजारमा त भारतीय तेल आउन थालिसकेको छ । पछिल्लो समय निर्यात सूचीमा माथि रहँदै आएको तेल निकासी खस्किएपछि समग्र निकासी घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय