काठमाडौं– चालु आर्थिक वर्ष २०७९–८० का लागि सरकारले तोकेको लक्ष्यअनुसार नै राजस्व उठाउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायलाई कडा निर्देशन दिएका छन् ।

अर्थमन्त्रीको निर्देशनसँगै साविकका करदातामाथि चाप पर्ने देखिएको छ । राजस्व बढी उठ्न कि त आर्थिक गतिविधि बढ्नुपर्छ कि करको दायरा बढ्नुपर्छ । अहिले मुलुकमा यी दुवै अवस्था छैन । दैनिक उपभोग्यदेखि विलासी वस्तुसम्मको कारोबार व्यापक रुपमा घटेको सर्वेक्षणहरुले देखाएका छन् । यो बेला बजेटले राखेको राजस्वको महत्त्वाकांक्षी लक्ष्य प्राप्त गर्ने प्रयास हुँदा साविकका व्यवसायीमाथि नै दबाब बढ्ने विज्ञहरु बताउँछन् ।

आइतबार अर्थ मन्त्रालय एवं मातहतका विभाग र कार्यालयहरूसँगको छलफलका क्रममा पौडेलले यस्तो निर्देशन दिएका हुन् । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा आन्तरिक र भन्सार राजस्व लक्ष्यभन्दा कम छ । वार्षिक लक्ष्यभन्दा कम राजस्व उठ्नुको कारणबारे आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग जानकारी लिएको पनि अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

अर्थमन्त्री पौडेलले राजस्व संकलनको वर्तमान अवस्थाबारे जानकारी लिँदै तोकिएबमोजिमको राजस्व संकलनको लक्ष्य हासिल गर्न चाल्नुपर्ने कदमका सम्बन्धमा निर्देशन दिएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘आजैदेखि दैनिकरूपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनुपर्ने र हालसम्मको राजस्वको न्यूनता पूरा गरी लक्ष्यअनुसार संकलन गर्न सोहीबमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न अर्थमन्त्रीले निर्देशन दिनुभयो,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

राजस्व परिचालनका लागि विभाग तथा कार्यालयलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने प्रतिबद्धता पनि मन्त्री पौडेलले व्यक्त गरेका छन् । त्यस्तै, कर कानुनको परिपालना गराउँदा गल्ती गर्नेलाई छुट नदिन र निर्दोषलाई त्रसित नपार्नसमेत निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जाँचपासलाई वास्तविक तथा यथार्थपरक बनाउन अर्थमन्त्री पौडेलको निर्देशन छ । त्यस्तै, कर कार्यालयहरूका लागि तोकिएको कार्यगत सूचकहरू प्राप्तिमा केन्द्रित हुन र करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गर्नसमेत उनले निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय