काठमाडौं– चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले बढेर ४८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।

गत साउनदेखि मंसिरसम्ममा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।

सो अवधिमा चालू खाता ३७ अर्ब ९१ करोडले घाटामा रहेको तथ्यांक नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २९८ अर्ब ५१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालू खाता मंसिर मसान्तमा २९ करोड ७२ लाखले घाटामा छ ।

सो अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई ३ अर्ब ४७ करोड कायम भएको र खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख पुगेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ७ करोड रहेको थियो ।

गत मंसिर मसान्तमा मुलुकको शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९५ अर्ब १ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय