जानकी– दसैंतिहार मनाउने खर्च जुटाउन भन्दै भारत जान लागेका बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा शनिबार नेपाल–भारत सीमा नाका जमुनाहमा भेटिए । नेपालगन्जको गर्मीले असिनपसिन भएका खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व मनाउने खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको जानकारी दिए ।
साठी वर्ष पार गरिसकेका उनले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको सुनाए । ‘परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैन भनेर म आउँछु । खेती लगाइसकिएपछि पैसा कमाउन फेरि सिमला फर्किन्छु,’ उनले भने, ‘मिले दसैंतिहारमा घर फर्कन्छु, नमिले साथीभाइ आउँदा उनीहरुको साथमा चाडबाड मनाउने पैसा पठाइदिन्छु ।’
बुढाले आफूले पछिल्ला ३५ वर्ष यसैगरी बिताएको जानकारी दिए । नेपालमा जति काम गरे पनि राम्रो पारिश्रमिक नपाउने र पाए पनि ठेकेदारले पैसा नै नदिने उनले गुनासो गरे । ‘नेपालमै दुःख गरौं भन्ने सोच र जाँगर भए पनि काम र कामको मूल्य छैन,’ उनले भने, ‘घरपरिवार छाडेर अर्काको देशमा काम गर्न जाने रहर त मलाई पनि कहाँ छ र ? तर गुजाराका लागि पनि जानैपर्ने बाध्यता छ ।’
बुढा जस्तै सुर्खेत मेलकुनाका हरि ओली पनि असारे खेतीबाली लगाएर परिवारको छाक टार्न भारतमा मजदुरीका लागि जाँदै गर्दा जमुनाहमा भेटिए । घरमा स्कुल पढ्ने छोराछोरी छन् । पढाउन र चाडपर्व मनाउने खर्च जोहो गर्न आफू भारत जानुपर्ने बाध्यता भएको उनले सुनाए । ‘स्वदेशमै व्यवसाय गर्न पनि लगानी चाहिन्छ । लगानी लगाएर व्यवसाय गर्न मेरो हैसियतले भ्याउँदैन । रहरले भन्दा पनि बाध्यताले भारतमा मजदुरी गर्न जानुपरेको छ,’ उनले भने । उमेरले ५६ वर्ष पार गरिसकेका ओलीले भारत गएर कमाउन थालेको २२ वर्ष भएको बताए ।
यसैगरी रोजगारीका लागि भारत जाँदै गरेका दैलेखका विनय क्षेत्रीको पनि कथाव्यथा बुढा र ओलीको जस्तै छ । उनी पनि बर्खे खेती लगाउन घर आएको र खेती लगाएर फर्कन लागेको बताउँछन् । उमेरले ४८ वर्ष लागेका क्षेत्रीले नेपालमा रोजगारीको अभावसँगै स्वरोजगारका लागि सीप र लागतको अभावले आफू बर्सेनि भारत जाने गरेको बताउँछन् । ‘आफूसँग हातमा सीप छैन, व्यापार–व्यवसाय गर्न लगानी छैन, अनि महिना दिन ढुक्कले काम गर्ने रोजगारी पाइँदैन । भारतमा त जस्तो भन्यो त्यस्तै काम पाइन्छ अनि दाम पनि,’ उनले भने ।
बुवा र काकाको साथमा सानै उमेरदेखि भारत गएर मजदुरी गर्दै आएको विनयले बताए । विगत १८ वर्षअघि भारत जान सुरु गरेका उनलाई पहिलोपल्ट देशको नाका पार गर्दा नमज्जा लागेको थियो रे । ‘पहिलोपटक काम गरेर पैसा कमाउन बुवा र काकासँग भारत गएको थिएँ । त्यतिबेला यही नाकामा म मनै मन रोएको पनि थिएँ । साह्रै नमज्जा लागेको थिए । अहिले त बानी परिसक्यो,’ उनले भने ।
प्रत्येक वर्ष नेपालगन्जस्थित जमुनाह नाकामा रोजगारीको खोजीमा भारत जानेको लर्को लाग्छ । यस वर्ष पनि असारे खेतीबाली सकेर दसैंतिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को सीमानाकामा देख्न सकिन्छ । अचेल यो नाकाबाट दैनिक २०० जति नेपाली कामको खोजीमा भारत गइरहेको अधिकारीहरु बताउँछन् ।









