
काठमाडौं– भारतले प्याज निकासीमा लाग्ने २० प्रतिशत शुल्क हटाएको छ । फेब्रुअरीको अन्तिमदेखि प्याजको मूल्य लगभग ३०–४० प्रतिशतले घटेपछि भारतको केन्द्र सरकारले अप्रिल १ देखि लागू हुने गरी उक्त शुल्क हटाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
नेपालमा प्याज आपूर्ति हुने मुख्य स्रोत भारतमा यसको मूल्य व्यापक घटेका बेला निकासी शुल्क समेत खारेज भएपछि निकट भविष्यमै नेपाली बजारमा प्याज सस्तिने अपेक्षा गरिएको छ ।
हाल काठमाडौंको बजारमा उपभोक्ताले एक किलो प्याजका लागि ८० रुपैयाँसम्म तिरिरहेका छन् । कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार चैत १० गते आइतबार सुकेको भारतीय प्याजको थोक मूल्य ५० देखि ६० रुपैयाँ प्रतिकिलो छ ।
भारतीय बजारमा प्याजको मूल्यमा ४० प्रतिशतसम्म कमी आए पनि त्यो नेपालको खुद्रा बजारमा आइपुग्न बाँकी छ । त्यसमाथि भारत सरकारले तोकेको न्यूनतम निकासी मूल्य र निकासी कर समेत खारेज भएपछि नेपाली बजारमा पनि प्याजको मूल्य ४० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ ।
भारतले १३ सेप्टेम्बर २०२४ देखि लागू गरेको २० प्रतिशत निकासी शुल्क खारेज गरेको हो ।
‘रबि (हिउँदे) बालीको अपेक्षित ठूलो आगमनपछि थोक र खुद्रा मूल्य घटेको यस महत्वपूर्ण क्षणमा किसानलाई लाभकारी मूल्य सुनिश्चित गर्ने र उपभोक्तालाई सुपथ मूल्यमा प्याज उपलब्ध गराउने सरकारी प्रतिबद्धताको अर्को प्रमाण यो निर्णय हो,’ सरकारको आधिकारिक विज्ञप्तिमा भनिएको छ ।
निर्यात नियन्त्रण गर्ने सरकारी कदमका बाबजुद भारतबाट आर्थिक वर्ष २०२४ मा लगभग १७ लाख १० हजार टन प्याज निर्यात भएको छ । आर्थिक वर्ष २०२५ को (मार्च १८ सम्म) मा लगभग ११ लाख ६० हजार टन निर्यात भइसकेको छ ।
कृषि विभागको अनुमान अनुसार यस वर्ष हिउँदे प्याज उत्पादन २ करोड २७ लाख टन पुग्ने अनुमान गरिएको छ, जुन गत वर्षको १ करोड ९२ लाख टनभन्दा लगभग १८ प्रतिशतले बढी हो ।
भारतमा उत्पादन हुने कुल प्याजमा ७०–७५ प्रतिशत अंश हिउँदे प्याजको हुन्छ । अक्टोबर–नोभेम्बरताका बर्खे प्याज नआउँदासम्म समग्र उपलब्धता र मूल्य स्थिरताको लागि हिउँदे प्याजको भूमिका महत्त्वपूर्ण छ ।
यस सिजनमा अनुमानित उच्च उत्पादनले आगामी महिनाहरूमा बजार मूल्यहरू थप सहज हुने अपेक्षा गरिएको सरकारी विज्ञप्तिमा उल्लेख छ ।
मुख्य उत्पादन केन्द्र नासिक र दिल्ली जस्ता उपभोग गर्ने बजारहरूमा फेब्रुअरीको अन्तिमदेखि प्याजको मूल्य ३०–४० प्रतिशतले घटेको छ ।
मूल्य घट्नुको प्रमुख कारण मध्य प्रदेश, महाराष्ट्र, गुजरातबाट नयाँ हिउँदे बालीको आगमन र निर्यातमा जारी नियन्त्रणका कारण घरेलु बजारमा आपूर्तिमा वृद्धि हुनु हो ।
प्याज निर्यातमा २० प्रतिशत शुल्कले विश्व बजारमा भारतीय प्याजलाई महँगो बनाएको थियो । यसले भारतीय प्याजलाई पाकिस्तानीसँग मूल्यमा प्रतिस्पर्धा गर्न गाह्रो परेको थियो ।
सन् २०२४ को नोभेम्बरमा भारतले ५ करोड २७ लाख ९० हजार अमेरिकी डलर बराबरको प्याज निर्यात गरेको तथ्यांकले देखाउँछ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा लगभग ४७ प्रतिशतले कम थियो ।
सन् २०२४ को अप्रिलदेखि डिसेम्बरसम्म भारतले लगभग ३९ करोड २० लाख अमेरिकी डलर बराबरको प्याज निर्यात गरेको थियो, जबकि आर्थिक वर्ष २०२४ मा लगभग ५० करोड अमेरिकी डलर बराबरको प्याज निर्यात गरेको थियो ।
यी निर्यातको लगभग ४८ प्रतिशत बंगलादेश जान्छ, त्यसपछि मलेसिया । सन् २०२३ को डिसेम्बरमा भारतले आन्तरिक बजारमा मूल्य नियन्त्रण गर्न पहिलोपटक प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
उक्त प्रतिबन्ध सन् २०२४ को मेमा हटाएर प्रतिटन ५५० अमेरिकी डलरको न्यूनतम निर्यात मूल्य (एमईपी) कायम गरी ४० प्रतिशत निर्यात कर लगाउन थाल्यो ।
सन् २०२४ को सेप्टेम्बरमा एमईपी हटाए पनि निर्यात शुल्क हटाएन, बरु ४० प्रतिशतबाट २० प्रतिशतमा घटायो, जुन अझै जारी छ ।
‘सन् २०२४ को सेप्टेम्बरमा २० प्रतिशतको निर्यात शुल्क उपयुक्त थियो, तर अब नयाँ बाली आउन थालेपछि निर्यात शुल्कले किसानहरूलाई नोक्सान पुर्याइरहेको छ,’ एक वरिष्ठ अधिकारीले भने ।
वास्तवमा सन् २०२३ को डिसेम्बरदेखि प्याजको निर्यात कुनै न कुनै रूपमा प्रतिबन्धित छ, जसले गर्दा यो बाली कुनै न कुनै प्रकारको रोकमा परेको सबैभन्दा लामो अवधिमध्ये एक भएको छ ।
भारतमा, सामान्यतया, सेप्टेम्बरदेखि डिसेम्बरसम्मको कम उत्पादन हुने महिनाहरूमा प्याजको मूल्य बढ्ने गर्दछ । त्यसपछि यो घट्छ । नासिएर जाने हिउँदे (रबि) र बर्खे (खारिफ) बालीबीचको अन्तरको कारणले मूल्य घटबढ हुने गरेको हो ।
भारतले वार्षिक रूपमा लगभग २ करोड ८० लाखदेखि ३ करोड टन प्याज उत्पादन गर्दछ र यो विश्वको सबैभन्दा ठूला उत्पादकमध्ये एक हो । यो बाली सामान्यतया वर्षमा तीन पटक रोपिन्छ ।
पहिलो खारिफ हो । यो जुलाई र अगस्टको बीचमा रोपिन्छ र अक्टोबर–डिसेम्बरमा भित्र्याइन्छ । त्यसपछि ढिलो खारिफको पालो आउँछ, जुन अक्टोबर–नोभेम्बरमा रोपिन्छ र जनवरी–मार्चमा काटिन्छ, र तेस्रो रबि प्याज हो, जुन डिसेम्बर र जनवरीको बीचमा रोपिन्छ र मार्च र मेको बीचमा काटिन्छ ।
तीनमध्ये, रबि प्याजले देशको कुल वार्षिक उत्पादनमा लगभग ७५ प्रतिशत योगदान गर्छ र अन्यको तुलनामा यो बढी लामो समय भण्डारण गर्न सकिन्छ ।