काठमाडौं– गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी भएको छ ।

जेनजीको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दाबी भएको छ । प्राधिकरणका अनुसार दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा ४० वटा बीमा दाबी परेको छ । त्यसको कुल दाबी रकम ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँ बराबर छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा ४ अर्ब ९३ करोड २२ लाख ७९ हजार ५०० र शिखर इन्स्योरन्समा २ अर्ब ३९ करोड ४ लाख ७७ हजार ७६४ रुपैयाँ दाबी परेको छ । आइजिआर्इ प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड छ लाख ८० हजार ८०० रुपैयाँ बराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा १ अर्ब ४७ करोड ५५ लाख ३१ हजार ६६६ रुपैयाँ बराबरको र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा १ अर्ब १५ करोड ६२ लाख ८२ हजार ९७९ रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

नेको इन्स्योरेन्ससँग १ अर्ब ९ करोड ५३ लाख ६५ हजार २०७ रुपैयाँ बराबर माग भएको छ । सानिमा जिआईसीमा ७८ करोड ९३ लाख ७९ हजार बराबरको दाबी परेको छ ।

राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख रुपैयाँ बराबर बीमा माग भएको छ । त्यसैगरी युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा ४८ करोड ७४ लाख ७५ हजार ३६० र नेपाल इन्स्योरेन्स कम्पनीमा ४६ करोड ९४ लाख ९८ हजार बराबरको दाबी परेको प्राधिकरणको भनाइ छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीमा ३८ करोड ५८ लाख २२ हजार र प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख रुपैयाँको दाबी परेको छ ।

नेसनल इन्स्योरेन्स कम्पनीमा ६ करोड ८२ लाख ९० हजार ७५६ रुपैयाँ बराबरको दाबी परेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीमा १ करोड १३ लाख २२ हजार ८००, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा ६७ लाख ७ हजार ६५०, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा ५६ लाख ३६ हजार, ट्रष्ट माइक्रो इन्स्योरेन्समा ४२ लाख रुपैयाँ बराबरको बीमा दाबी भएको छ । प्राधिकरणका अनुसार हालसम्म १ हजार ९८४ वटा बीमा दाबी परेको छ ।

नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रीया शीघ्र निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्वन्धित निकायमा प्रक्रियाअघि बढाउन संघले आग्रहसमेत गरेको छ ।

वर्तमान अवस्थामा बीमाको महत्त्व झनै बढेको सन्दर्भमा बीमा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्यांकन गरी, क्षति विवरणको आधारमा दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउने संघले स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय