ढाका– सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनेकी र दशकौंसम्म सत्ताको लुकामारीमा शेख हसिनासँग कडा प्रतिस्पर्धा गरेकी खालिदा जियाको लामो बिरामीपछि मंगलबार ८० वर्षको उमेरमा निधन भएको छ।
उनको दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अनुसार उनको मृत्यु लामो समयको बिरामीपछि भएको हो। चिकित्सकहरूका अनुसार उनलाई कलेजोको सिरोसिस, बाथरोग, मधुमेहका साथै छाति र मुटुको समस्या थियो। सन् २०२५ को सुरुमा उनी उपचारका लागि लन्डन गएकी थिइन् र चार महिना त्यहाँ बसेर स्वदेश फर्किएकी थिइन्।
सन् २००६ देखि सत्ता बाहिर रहेकी र धेरै वर्ष जेल वा नजरबन्दमा बिताएकी भए तापनि खालिदा र उनको मध्य–दक्षिणपन्थी दल बीएनपीको जनसमर्थन भने बलियो रहिरह्यो। आगामी फेब्रुअरीमा हुन लागेको संसदीय निर्वाचनमा बीएनपीलाई मुख्य दाबेदारका रूपमा हेरिएको छ। उनका छोरा तथा पार्टीका कार्यवाहक अध्यक्ष ६० वर्षीय तारिक रहमान झन्डै १७ वर्षको निर्वासनपछि गत हप्ता मात्र स्वदेश फर्किएका छन् र उनलाई आगामी प्रधानमन्त्रीको बलियो उम्मेदवार मानिएको छ।
सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनले हसिनालाई सत्ताच्युत गरेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता तथा लघुवित्तका अग्रगामी मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार चलिरहेको छ। नोभेम्बरमा, हसिनालाई विद्यार्थी प्रदर्शनमा भएको दमनका लागि उनको अनुपस्थितिमा मृत्युदण्डको फैसला सुनाइएको थियो।
खालिदालाई सुरुमा लजालु र आफ्ना दुई छोराको पालनपोषणमा समर्पित महिलाका रूपमा चिनिन्थ्यो। तर, सन् १९८१ मा उनका पति सैन्य नेता तथा तत्कालीन राष्ट्रपति जियाउर रहमानको सैनिक विद्रोहको प्रयासमा हत्या भएपछि उनी राजनीतिमा होमिइन्। तीन वर्षपछि उनी पतिले स्थापना गरेको बीएनपीको प्रमुख बनिन् र ‘बंगलादेशलाई गरिबी र आर्थिक पछौटेपनबाट मुक्त गर्ने’ पतिको लक्ष्य पूरा गर्ने वाचा गरिन्।
उनले बंगलादेशका संस्थापक नेताकी छोरी तथा अवामी लिगकी प्रमुख शेख हसिनासँग मिलेर सन् १९९० मा सैन्य शासक हुसेन मोहम्मद इरशादलाई सत्ताच्युत गर्न लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेकी थिइन्।
लडाकु बेगमहरू
तर उनीहरूको सहकार्य लामो समय टिकेन। उनीहरूको कट्टर शत्रुताका कारण यी दुईलाई ‘ब्याटलिङ बेगम्स’ अर्थात लडाकु बेगमहरू उपनाम दिइयो। समर्थकहरूले खालिदालाई विनम्र, परम्परागत तर शालीन र सोचविचार गरेर बोल्ने नेताका रूपमा हेर्थे। साथै, आफ्नो पार्टीको रक्षा र प्रतिद्वन्द्वीहरूको सामना गर्ने मामिलामा उनलाई साहसी र सम्झौताहीन नेता मानिन्थ्यो।
यसको विपरीत, हसिना निकै स्पष्टवक्ता र हक्की स्वभावकी थिइन्। उनीहरूको विपरीत व्यक्तित्वले नै दशकौंसम्म बंगलादेशको राजनीतिमा प्रतिद्वन्द्वीतालाई बढावा दियो।
सन् १९९१ मा बंगलादेशको पहिलो स्वतन्त्र निर्वाचनमा खालिदाले देशको सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए(इस्लामीको समर्थनमा हसिनामाथि अनपेक्षित विजय हासिल गरिन्। यससँगै उनी बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री र बेनजिर भुट्टोपछि मुस्लिम राष्ट्रको लोकतान्त्रिक सरकारको नेतृत्व गर्ने दोस्रो महिला बनिन्।
खालिदाले राष्ट्रपतीय प्रणालीलाई संसदीय प्रणालीमा बदलिन्, जसले गर्दा शक्ति प्रधानमन्त्रीमा निहित भयो। उनले वैदेशिक लगानीका प्रतिबन्धहरू हटाइन् र प्राथमिक शिक्षालाई अनिवार्य तथा निःशुल्क बनाइन्।
सन् १९९६ को निर्वाचनमा हसिनासँग पराजित भए पनि पाँच वर्षपछि उनी भारी मतका साथ पुनस् सत्तामा फर्किइन्। उनको दोस्रो कार्यकाल भने कट्टरपन्थी इस्लामवादीहरूको उदय र भ्रष्टाचारका आरोपहरूले धमिलियो। सन् २००४ मा हसिनाले सम्बोधन गरिरहेको एक र्यालीमा ग्रेनेड आक्रमण भयो। हसिना जोगिइन्, तर २० भन्दा बढीको मृत्यु भयो र ५०० भन्दा बढी घाइते भए। यसको दोष खालिदा सरकार र उनका इस्लामिक सहयोगीहरूमाथि लाग्यो।
हिरासत र स्वतन्त्रता
यद्यपि खालिदाले पछि कट्टरपन्थी समूहहरूमाथि कारबाही गरेकी थिइन्, तर उनको दोस्रो कार्यकाल सन् २००६ मा राजनीतिक अस्थिरता र सडक हिंसाका बीच सेना समर्थित अन्तरिम सरकारले सत्ता सम्हालेपछि अन्त्य भयो। अन्तरिम सरकारले भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा खालिदा र हसिना दुवैलाई करिब एक वर्ष जेलमा राख्यो। सन् २००८ को निर्वाचनअघि उनीहरू रिहा भए।
त्यसपछि खालिदाले कहिल्यै सत्ता पुनः प्राप्त गर्न सकिनन्। बीएनपीले सन् २०१४ र २०२४ का चुनाव बहिष्कार गरेपछि हसिनासँगको उनको कटुताले बंगलादेशी राजनीतिमा प्रभुत्व जमाइरह्यो। दुई पार्टीबीचको तनावले गर्दा पटक–पटक हडताल, हिंसा र मृत्युका घटनाहरू भए, जसले १७ करोड ५० लाख जनसंख्या भएको र बाढीको जोखिममा रहेको बंगलादेशको आर्थिक विकासमा बाधा पुर्यायो।
सन् २०१८ मा, खालिदालाई एक अनाथालय ट्रस्टका लागि प्राप्त २,५०,००० डलर चोरेको अभियोगमा दोषी ठहर गरियो। उनले ती आरोपहरूलाई आफू र आफ्नो परिवारलाई राजनीतिबाट बाहिर राख्ने षड्यन्त्रको रूपमा वर्णन गरेकी थिइन्। उनी जेल परिन् तर स्वास्थ्य अवस्था बिग्रिएपछि सन् २०२० मार्चमा मानवीय आधारमा नजरबन्दमा सारिएको थियो।
सन् २०२४ अगस्टमा हसिना सत्ताच्युत भएपछि खालिदा नजरबन्दबाट मुक्त भइन्। सन् २०२५ को सुरुमा, बंगलादेशको सर्वोच्च अदालतले खालिदा र रहमानलाई सन् २०१८ को भ्रष्टाचार मुद्दाबाट सफाइ दियो।









