काठमाडौं– चालु आर्थिक वर्ष २०८२–८३ का लागि छुट्ट्याएको बजेटमध्ये ८५ दशमलव ९६ प्रतिशतमात्र खर्च हुने संशोधित अनुमान अर्थ मन्त्रालयले गरेको छ ।
मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा खर्च अनुमान संशोधन गरेको हो ।
अर्थमन्त्री रामेश्वर खनालका अनुसार यस वर्ष १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँ बजेटमात्र खर्च हुने अनुमान गरिएको छ । यस वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएका थिए । संशोधित अनुमान प्रारम्भिक विनियोजनको ८५ दशमलव ९६ प्रतिशत बराबर हो ।
यो वर्ष चालुतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड र पुँजीगततर्फ २ खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ । वित्तीय व्यवस्थातर्फको बजेट ३ खर्ब १९ अर्ब ४ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान अर्थ सार्वजनिक गरेको छ ।
जेठ १५ गते प्रस्तुत बजेटमा चालु खर्चका लागि ११ खर्ब ८० अर्ब, पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । पुस मसान्तसम्मको प्रगति हेर्दा चालु बजेट लक्ष्यको ४१ दशमलव २५ प्रतिशत, पुँजीगत बजेट १२ दशमलव १२ प्रतिशत र वित्तीय व्यवस्थाको रकम ४० दशमलव ९५ प्रतिशत खर्च भएको छ ।
सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य पनि ६ बाट घटाएर साढे ३ प्रतिशत बनाएको छ ।









