काठमाडौं– एटिक रेस्टुरेन्ट एन्ड बारले शब्दकिरीसँगको सहकार्यमा दोस्रो शब्दकिरी रअ सेसन्स आयोजना गर्ने भएको छ । कार्यक्रम असोज २७ गते मंगलबार काठमाडौंको ज्ञानेश्वरस्थित एटिक रेस्टुरेन्ट एन्ड बारमा हुनेछ । कार्यक्रम साँझ ६ः३० बजेदेखि सुरु हुने बताइएको छ ।
‘५ आवाज, ५ ध्वनि र एउटा आत्मीय साँझ’ भन्ने अवधारणामा तयार गरिएको कार्यक्रममा फरक सिर्जनात्मक पृष्ठभूमि र प्रस्तुतिशैली भएका ५ जना प्रस्तुतकर्ता सहभागी हुनेछन् । उनीहरूले मौलिक कविता, अन्प्लग संगीत, भावना र जीवनका वास्तविक अनुभूति दर्शकमाझ प्रस्तुत गर्नेछन् ।
परम्परागत तथा औपचारिक मञ्चीय कार्यक्रम भन्दा फरक रूपमा तयार गरिएको यस सेसन्समा अत्यधिक, प्राविधिक, सजावट, चर्को प्रकाश र कलाकार तथा दर्शकबीचको दूरीलाई कम प्राथमिकता दिइनेछ । यसको सट्टा शब्द, स्वर, कथा र प्रत्यक्ष मानवीय अनुभूतिलाई कार्यक्रमको केन्द्रमा राखिनेछ ।
एटिक र शब्दकिरीका अनुसार यो केवल एकपटक आयोजना हुने कविता वा संगीत कार्यक्रम नभई कवि, संगीतकर्मी, कथावाचक र श्रोताबीच प्रत्यक्ष भावनात्मक सम्बन्ध निर्माण गर्ने सिर्जनात्मक अभियानको सुरुआत हो ।
कार्यक्रमका लागि तीन श्रेणीका टिकट रहेको एटिकको विज्ञप्तिमा उल्लेख छ । जस अन्तर्गत ५०० रुपैयाँको टिकटमा एक जनाले प्रवेश पाउने र एउटा भी६० कफी पाइने बताइएको छ । एक हजारको टिकटमा एकजनाले प्रवेश र एउटा ३३० मिलिलिटर बियरको व्यवस्था छ । १५ सय रुपैयाँको टिकटमा एक जनाको प्रवेश तथा एक पेग श्लोक ह्विस्की रहेको विज्ञप्तिमा उल्लेख छ ।
सिमित संख्यामा विशेष अर्ली–बर्ड छुट पनि उपलब्ध गराइएको विज्ञप्तिमा छ । यसअन्तर्गत सबैभन्दा पहिले टिकट खरिद गर्ने १० जनाले जुनसुकै टिकट श्रेणीमा २०० रुपैयाँ छुट पाउनेछन् ।
टिकट एटिक रेस्टुरेन्ट एन्ड बारबाट प्रत्यक्ष रूपमा फोन पोइन्ट्सको एपबाट वा इसेवा इभेन्ट्समार्फत अनलाइन टिकट खरिद गर्न सकिने बताइएको छ ।









