काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाटै तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले जानकारी दिएका छन् । उनका अनुसार ‘डिजिटल’ माध्यमबाट विद्युत् महसुल तिर्ने अभ्यासलाई प्रोत्साहित गर्न उपभोक्तालाई थप सुविधा दिने निर्णय भएको हो ।
प्राधिकरणले घरेलु उपभोक्ताहरूका लागि ‘स्मार्ट पे रिवार्ड’ कार्यक्रम ल्याएको हो । यसअन्तर्गत अब अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्दा विद्यमान दुई प्रतिशत छुट सुविधासँगै थप शून्य दशमलव पाँच प्रतिशत स्मार्ट पे रिवार्ड प्राप्त गगर्ने सञ्चालक समिति सदस्य शाहीले बताए ।
उनका अनुसार अब डिजिटल भुक्तानी गर्ने ग्राहकले कुल २ दशमलव ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । पहिलो चरणमा ६ महिनाका लागि ल्याइएको यस कार्यक्रमले डिजिटल भुक्तानीलाई अझ सहज र प्रोत्साहनमूलक बनाउने उनको भनाइ छ । प्राधिकरणले सहज अनलाइन भुक्तानीबाट समयको बचतका साथै थप सुविधाको लाभ हुने भन्दै विद्युत् महसुल अनलाइनबाट तिरेर थप सुविधाको लाभ लिन आह्वान गरेको छ ।
प्राधिकरणका अनुसार अहिले पनि ७३ प्रतिशत ग्राहकले प्राधिकरणको महशुल काउन्टरमै पुगेर भौतिक रुपमा बिल तिर्ने गरेका छन् । यसैलाई घटाउन चाहेको प्राधिकरणको भनाइ छ ।









