बनेपा– मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले बुधवारदेखि बारअनुसारको सेवा दिने भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा सेवाग्राहीको बढी भीडभाड हुने भएकाले बारअनुसार सेवा दिने तयारी गरिएको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालय धुलिखेलका निमित्त प्रमुख टंकप्रसाद चौलागाईँले कार्यालयबाट एकै पटक सेवा प्रवाह गर्दा कोभिड–१९ संक्रमणको बढी जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखी संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमान्ड पोस्टको समन्वयमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह गर्न लागिएको बताए ।

मालपोत अधिकृत चौलागाईँका अनुसार बनेपा र नमोबुद्ध नगरबासीले आइतबार र बुधबार, पनौती र मण्डनदेउपुर नगरबासीले सोमबार र बिहीबार तथा धुलिखेल र पाँचखाल नगरबासीले मंगलबार र शुक्रबार सेवा लिन पाउने व्यवस्था गरिएको छ ।

गाउँपालिकाका सेवाग्राहीले भने हरेक दिन सेवा लिन पाउने व्यवस्था गरिएको चौलागाईँले बताए । यसअघि पनि कार्यालयले कोरोना संक्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै बारअनुसार सेवा प्रवाह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय