नयाँ दिल्ली– भारतमा कोरोना भाइरसका नयाँ थपिने संक्रमित संख्या लगातार दुई दिन घटेको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन लाख ६८ हजार नयाँ संक्रमित थपिएका छन् । यो सहित भारतमा कुल संक्रमितको संख्या एक करोड ९९ लाख पुगेको छ ।

गत शनिबार चार लाख नयाँ संक्रमित थपिएका थिए । आइतबार र सोमबार भने नयाँ थपिने संक्रमितको संख्या क्रमशः घटेको छ । आइतबार ३ लाख ९२ हजार नयाँ संक्रमित थपिएका थिए ।

संक्रमणबाट पछिल्लो २४ घन्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । सोमबारको मृतक संख्या पनि अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन ३ हजार ६८९ जनाको ज्यान गएको थियो । भारतमा हालसम्म दुई लाख १८ हजार ९५९ कोरोना संक्रमितको ज्यान गएको छ ।

मन्त्रालयका अनुसार भारतमा अझै पनि ३४ लाखभन्दा बढी व्यक्ति सक्रिय संक्रमितको अवस्थामा छन् । गत २४ घन्टामा तीन लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । यो सहित भारतमा कूल संक्रमितमध्ये १ करोड ६२ लाख संक्रमणमुक्त भएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार, भारतमा हालसम्म २९ करोड नमुना परीक्षण गरिएको छ । आइतबार मात्र भारतमा १५ लाख नमुना परीक्षण गरिएको छ ।

पछिल्ला दिनमा आक्रामक रुपमा कोभिड खोप अभियान सञ्चालन गरेको भारतमा हालसम्म १५ करोड ७२ लाखलाई खोप दिइएको छ । भारतमा कोभिडको दोस्रो लहरले पूरै देशमा संकटको अवस्था सिर्जना गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोनाभाइरस महामारीबाट विश्वभर कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ लाख १६ हजार नाघेको छ ।

कोभिडको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९१ हजार, ब्राजिलमा ४ लाख ७ हजार, भारतमा २ लाख १८ हजार, मेक्सिकोमा २ लाख १७ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २१ हजार, रसियामा १ लाख १० हजार, फ्रान्समा एक लाखको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय