काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिइएको व्यहोराको पत्र बुधबार संघीय संसद् सचिवालयलाई दिएको छ ।

केन्द्रका प्रमुख सचेतक देव गुरुङले संघीय संसद्का महासचिवलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । सो क्रममा संसदीय दलका नेता एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतको उपस्थिति रहेको थियो ।

‘माओवादी केन्द्र संघीय संसदीय दलको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजकै मितिदेखि लागू हुने गरी फिर्ता लिइएको छ,’ अध्यक्ष दाहालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

नेपालको संविधानको धारा ७६ (२) अन्तर्गत प्रधानमन्त्रीका रुपमा नेकपा (एमाले)का संसदीय दलका नेता केपी शर्मा ओलीलाई माओवादीले २०७४ फागुनमा समर्थन गरेको थियो । २०७५ जेठमा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एउटै संसदीय दल बनेको थियो ।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट दुई पार्टीबीचको एकता भंग भएको थियो । फैसलापछि पार्टी एकता भंग गरेदेखि नै माओवादीले वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहेको दोहोर्याउँदै आएको भएपनि माओवादीले समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको थिएन ।

सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादीलाई चर्को दबाब सिर्जना भएको थियो । त्यसबेला माओवादीले तत्काल समर्थन फिर्ता लिँदा मुलुक झन् राजनीतिक र संवैधानिक संकटमा फस्ने भन्दै उचित समय आएपछि निर्णय लिइने प्रस्ट्याउँदै आएको थियो ।

माओवादीले औपचारिक रुपमा सरकारलाई दिइएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओली सरकार अल्पमतमा परेको छ । उनको दल एमालेसँग १२१ सांसद रहेका छन् । संसद्मा बहुमत पुग्न १३७ मत आवश्यक पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय