काठमाडौं– कोभिड १९ महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिले दुई मन्त्रीसामु आफ्ना समस्या राखेका छन् ।

उनीहरुले सोमबार अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसामु आफ्ना समस्या राखेका हुन् ।

सो अवसरमा व्यवसायीहरुले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोधभर्ना रकमको अवधि बढीमा दुई वर्षको हुने उल्लेख भएकोमा तीन वर्ष गर्न, चुक्ता गर्ने अवधि अधिकतम चार वर्ष उल्लेख भएकोमा पाँच वर्षको व्यवस्था गर्न, विद्युत् डिमान्ड शुल्क छुटको व्यवस्था गरिदिन, व्यवसायमा विद्यमान कुनै ऋणका लागि व्यवस्था भइसकेको धितोको मूल्यमै शतप्रतिशतसम्म हुने गरी ऋण प्रवाह गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

यस्तै, पुनर्कर्जामा प्रतिग्राहक कर्जा सीमा २० करोड रहेकोमा सो रकमभन्दा बढी आवश्यक देखिए सीमालाई बाध्यकारी नबनाउने व्यवस्था मिलाउन पनि उनीहरुले आग्रह गरे । उनीहरुले पुनर्कर्जा र व्यावसायिक निरन्तरता कर्जा प्रवाहमा समस्या रहेको बताएका थिए ।

सो अवसरमा अर्थमन्त्री पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रम ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने आश्वासन दिएका छन् ।

बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रम कार्यान्वयन प्रक्रियामा देखिएका समस्या साधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिई अघि बढ्न र कठिनाइ परे सहजीकरण तथा सहयोग गर्ने बताए ।
कोभिड–१९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने विश्वास गर्दै अर्थमन्त्री पौडेलले भने, ‘पर्यटन र होटल क्षेत्रमा परेको अप्ठेराप्रति संवेदनशील छौं । तपाइँहरु अघि बढ्नुहोस्, सरकार साथमा छ ।’

उनले पर्यटन व्यवसायको क्षेत्रमा विद्युत् डिमान्ड शुल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल गर्ने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उउड्यानमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखापरेका समस्या समाधानका लागि मन्त्रालयले सम्बन्धित क्षेत्रसँग छलफल गरेको जानकारी दिँदै कोभिड–१९ गर्दा सरकारलाई परेको अप्ठोरोलाई पनि निजी क्षेत्रले बुझिदिन आग्रह गरे ।

अर्थसचिव शिशिरकुमार ढुंगानाले नीतिहरुमा समस्या नभएको स्पष्ट पार्दै कार्यान्वयनका लागि थप पहल गर्ने आश्वासन दिए ।
बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल, होटल एसोसियसन अफ नेपाल, रेस्टुरेन्ट एसोसिएसन लगायतका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय