सिमकोट– हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–६ को लिमीमा मंगलबारदेखि निषेधाज्ञा हटाइएको छ ।

वडाध्यक्ष पालजोर तामाङको अध्यक्षतामा बसेको बैठकले असार मसान्त नजिकिएसँगै कामको चाप बढी हुने भएकाले लिमीमा कार्यरत सरकारी तथा गैरसरकारी कर्मचारीका लागि मंगलबारदेखि वडा नं ६ लिमी प्रवेश गर्न पाइने भएको छ ।

तील, जाङ, हल्जीगाउँका अगुवाको उपस्थितिमा कर्मचारीलाई मात्र प्रवेश गर्न दिइने भएको छ भने अन्य लिमी उपत्यकाको भ्रमणमा आउने आन्तरिक पर्यटकलाई प्रवेशमा निषेध यथावत नै रहने भएको लिमी स्वास्थ्यचौकीका निमित्त कार्यालय प्रमुख लोकनाथ बोहराले बताए ।

वडा नं ६ मा कार्यरत कर्मचारीलाई तलब खुवाउनुपर्ने र विभिन्न योजनाको काम गर्नुपर्ने भएका कारण अन्य नागरिकलाई प्रवेश गर्न नदिइने भएको भए पनि कर्मचारीलाई प्रवेशमा मङ्गलबारदेखि खुला गरिएको उनले जानकारी दिए । उत्तरी नाम्खा गाउँपालिकामा अहिलेसम्म कोही कसैमा कोरोना संक्रमण देखिएको छैन ।

यस्तै खार्पुनाथ गाउँपालिका–५ मा रहेको बाम्टागाउँमा निषेधाज्ञा हटाइएको छ । केही दिनअघि बाम्टामा परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरूको मंगलबार पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि निषेधाज्ञा हटाइएको बताइएको छ । अब बाम्टामा वडा नं ५ का स्थानीयवासी आवतजावत गर्न पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय