काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का बिरामीले निःशुल्क उपचार पाउने अस्पताल र सेवा, सुविधाको विवरण बिहीबार सार्वजनिक गरेको हो ।

मन्त्रालयले ८३ वटा सरकारी, निजी, सामुदायिक र सहकारी अस्पतालसँग संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कतिपय अस्पतालले शुल्क लिएको पाइएकाले निःशुल्क उपचार सहितको सेवा पाउने विवरण सार्वजनिक गरेको बताए । उनका अनुसार संक्रमतिको निःशुल्क उपचारसँगै सामान्य ११ प्रकारका रगत परीक्षण, छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधीहरू, बेड शुल्क र खाजा खानासहित चार छाक अस्पतालले निःशुल्क उपलब्ध गराउनुपर्ने हुन्छ ।

यस्तै, आइसियूमा रहेका बाहेकको बिरामीमा पिसिआर, रेम्डेसिभर, प्लाज्माथेरापी, सिटी स्क्यान र हायर एन्टिबायोटिक्सको भने बिरामीले शुल्क तिर्नुपर्ने हुन्छ । मन्त्रालयले ती सेवा बिरामीले नपाएको खण्डमा कुनै पनि अस्पताललाई शोधभर्ना उपलब्ध नगराउने, निःशुल्क कोभिड–१९ को सेवा प्रवाह गर्ने अस्पतालको सूचीबाट हटाइने, अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानुनअनुसार अस्पताललाई कारवाही गर्ने प्रवक्ता डा पौडेलले जानकारी दिए ।

सरकारले कोभिड–१९ बिरामीको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई तीन हजार ५०० प्रतिदिन, मध्यम बिरामीका लागि सात हजार प्रतिदिन र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार प्रतिदिन तोकेको छ । सोहीअनुसार संक्रमितको उपचार गर्ने अस्पताललाई मन्त्रालयले सोधभर्ना दिने गरेको छ । सरकारले तोकेभन्दा बढी शुल्क लिने अस्पतालाई कारवाही गर्ने बताएको तर मन्त्रालयले कुनै बिरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा सरकारले तोकेको शुल्कमा ५० प्रतिशत थप शुल्क लिन सक्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय