काठमाडौं– विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिंगर’को भव्य उद्घाटन गरिएको छ ।

आइतबार भर्चुअल माध्यमबाट आयोजित समारोहमा संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले संयुक्त रुपमा उद्घाटन गरेका थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष पन्तले यो कार्यक्रमले विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्त्वपूर्ण भूमिका खेल्न विश्वास लिएको बताए ।

संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले यो कार्यक्रम सफल बनाउनका लागि देश विदेशका सबै नेपालीको साथ र सहयोगको अपेक्षा रहेको उनले बताए । यो प्रतियोगिता अन्तर्राष्ट्रियस्तरको हुने समेत गौतमले जानकारी दिए ।

प्रिअडिसनपछि नेपालका टेलिभिजनबाट पनि यो कार्यक्रम प्रसारण हुनेछ । प्रतियोगिताका केही एपिसोड नेपालमा पनि हुनेछन् । त्यसका लागि अवस्था पनि हेर्नुपर्ने हुन्छ ।

त्यो बेलासम्म महामारीको अवस्था कस्तो हुन्छ त्यसअनुसार पनि निर्णय हुने बताइएको छ । कति अडिसन भर्चुअल गर्ने र कति भौतिक रुपमै गर्ने भन्ने कुरा त्यही अवस्थाअनुसार हुने गौतमको भनाइ थियो ।

निर्णायक समितिका प्रमुख निर्णायक बाँस्कोटाले सबै नेपालीको साथ र सहयोगबाट एनआरएनएको यो ऐतिहासिक सांगीतिक कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले विदेशमा पनि ठूलो नेपाल छ, नेपाली छन्, भाषा, साहित्य र संस्कृति छ भन्ने कुरा दर्शाउन यो कार्यक्रमले इँटा थप्ने भनाइ राखे ।

कार्यक्रममा निर्णायक शम्भु राई, आइसिसी सदस्य तृष्णा शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए । उद्घाटनपछि प्रिअडिसन आइतबारदेखि खुला भइसकेको छ । डायस्पोराका नेपाली भाषी अग्रज र अनुजका स्वर प्रतिभा पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी सो ‘एनआरएन द सिंगर’ सुरु गरेको हो ।

कार्यक्रममा प्रथम पुरस्कार १५ लाख, द्वितीय पुरस्कार सात लाख र तृतीय पुरस्कार चार लाख तोकिएको आयोजकले जनाएका छन् । ‘एनआरएन द सिंगर’ नामको मोबाइल एपमा डाउनलोड गरेर प्रतियोगीले त्यसैमा आफ्नो गीतको भिडियो राख्न सक्नेछन् ।

भिडियो फाइल र त्यसको लिंकसमेत एपमा राख्न सकिनेछ । यो एपमा कार्यक्रमबारे जानकारी पनि हुनेछ भने प्रतियोगीका लागि भोटिङका लागि पनि यो एप प्रयोग हुनेछ ।

‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ संगीतकार बाँस्कोटा, गायक राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन् ।

वरिष्ठ संगीतकार तथा निर्णायक मण्डलका प्रमुख निर्णायक बाँस्कोटाले विश्वभरि छरिएका नेपाली संगीतकर्मी र कलाकारलाई कार्यक्रममा जोड्न सुझाव दिँदै यो कार्यक्रमले नेपाली कला क्षेत्रलाई माथि पुर्याउने र नेपाली भाषीलाई नेपाली गीतसंगीत सिक्न प्रोत्साहित गर्ने अपेक्षा पनि व्यक्त गरे ।

कार्यक्रममा पत्रकारले राखेका जिज्ञासाको मूल आयोजक समितिका हिक्मत थापा, गोविन्दप्रसाद गौतम, गणेशराज गौतम, रमण झा लगायतले जवाफ दिएका थिए । यो कार्यक्रमको सहउत्पादन टेक क्राफ्ट अस्ट्रेलियाले गरिरहेको छ भने सुवी टेक्नोलोजी प्रविधि पार्टनरका रुपमा रहेका छन् ।

संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले कार्यक्रमको सभापतित्व गरेका थिए । कार्यक्रमको सञ्चालन मूल आयोजक समितिका सचिव खड्ग न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय