चितवन– पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसेपछि दुवैतर्फको आवागमन बन्द भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो आज राति २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।

पृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर राजमार्ग पहिरोले ठाउँठाउँमा अवरुद्ध पारेको हो ।

शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला, व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनमा पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

पहिरो गएर राजमार्ग अवरुद्ध भएपछि बिहान ३ बजेदेखि प्रहरी राजमार्ग खुलाउन व्यस्त रहेको उनले बताए । त्यसैगरी, बन्दिपुर–१, गुरदुम र बन्दिपुर–४ डुम्रेमा पहिरोले राजमार्ग अवरुद्ध पारेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय