काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै आएका पाँच विद्यार्थी संगठनले नेपाल आयल निगम अन्तर्गत रहेको थानकोट डिपोमा धर्ना दिएका छन् ।

मूल्य वृद्धिको विरोध गर्दै आएका विद्यार्थी संगठनले बुधबार देशभरका पेट्रोल पम्प बन्द गर्दै ढुवानीमा अवरोध गर्न डिपोमा धर्ना दिएका हुन ।
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (नेपाल समूह), समाजवादी विद्यार्थी युनियन (यादव समूह) र अखिल छैठौंका नेता बुधबार बिहान साँढे नौ बजेदेखि थानकोट डिपोमा धर्ना बसेका हुन् ।

डिपो प्रमुख अभिषेक ठाकुरले विद्यार्थीको धर्नाका कारण ढुवानी रोकिएको बताए । ‘आज कार्यालय समय सुरु भएसगैं उहाँहरु डिपो गेटमा धर्नामा बस्नुभएको छ । अधिकांश पम्पले मंगलबार साँझ नै पेट्रोलिमय पदार्थकोे ढुवानी गरिसक्नुभएको छ । तत्काल पेट्रोलियम पदार्थको अभाव हुँदैन । उहाँहरु धर्नाबाट निस्कनासाथ ढुवानी पुनः सुरु गछौं,’ उनले भने ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले विद्यार्थीको आन्दोलनले बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लाका केही पम्प बन्द भएको जनाएको छ ।

बुधबार बिहान उपत्यकाका केही स्थानमा सञ्चालित पेट्रोल पम्पमा पाँच विद्यार्थी संगठनले केही पम्पको सटर लगाएर बन्द गराए तापनि अधिकांश पम्प खुला नै रहेको एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले जानकारी दिए ।

उनका अनुसार स्कुल तथा कलेज नजिक रहेका पम्प विद्यार्थीले बन्द गराए पनि अन्य स्थानमा सञ्चालित पम्प खुला रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय