काठमाडौं– सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम सुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

‘आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो,’ मौसमविद् पौडेलले भने ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोे छ ।

सोमबार देशभर सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र सबभन्दा धेरै नेपालगन्जको अधिकतम तापक्रम ३६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय