त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चार्टर्ड एकाउन्टेन्ट (सिए)को उपाधि प्राप्त गरेका व्यक्तिलाई लामो समयदेखि दिँदै आएको समकक्षता रोकेको डेढ वर्ष जति भएको छ । त्रिभुवन विश्वविद्यालयको यो कदमबाट सयौं सिएहरु उच्च शिक्षा अध्ययन र विभिन्न अवसरहरुबाट वञ्चित भएका छन् ।

समकक्षता नभएकै कारण विगतमा त्रिविले समकक्षता दिने बेलामा कलेज भर्ना भई स्नातकोत्तर तहको परीक्षा उत्तीर्ण गरेका व्यक्तिले प्रमाणपत्र समेत पाएका छैनन् ।
समकक्षताको अभावमा सिएले झेल्नुपरेका समस्याहरुलाई यहाँ सूत्रबद्ध रुपमा प्रस्तुत गरिएको छः

१. बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) अन्तर्गत स्वतन्त्र सञ्चालक बन्न कम्तीमा स्नातक चाहिन्छ, समकक्षताको नगराएका सिएले अरुको भन्दा निकै माथिल्लो तहको योग्यता र क्षमता हुँदाहुँदै पनि बैंक, वित्तीय संस्थामा स्वतन्त्र सञ्चालक हुन पाउँदैन ।

३. सिएले एलएलबी (कानुनमा स्नातक) वा स्नातकोत्तर वा अझ उच्च शिक्षा अध्ययन गर्न पहिलो जसरी सहजै पाउँथ्यो विगत दुई वर्षयता त्यो स्थिति छैन । समकक्षता रोकिएपछि नेपालका विश्वविद्यालयमा एलएलबी (कानुनमा स्नातक), स्नातकोत्तर लगायत अन्य उच्च शिक्षा हासिल गर्ने अवसर उनीहरुबाट खोसिएको छ । यतिसम्मकी त्रिभुवन विश्वविद्यालयले समकक्षता दिइरहेका बेला सो विश्वविद्यालय अन्तर्गतकै क्याम्पसमा भर्ना भएर स्नातकोत्तर उत्तीर्ण गरेका, तर सिएको समकक्षता लिन बाँकी विद्यार्थीले प्रमाणपत्र पाउन समेत सकेका छैनन् ।

४. लोक सेवा आयोग लगायत अन्य सरकारी, पब्लिक वा प्राइभेट पदमा खुला प्रतिस्पर्धा गर्नका लागि समकक्षतालाई न्यूनतम आधार बनाई दरखास्त आह्वान गर्ने नियमले गर्दा सिएहरु समकक्षता अभावकै कारण ती पदहरुमा प्रतिस्पर्धा गर्ने अवसरबाट वञ्चित भएका छन् ।

५. सिए गरेर पुनः स्नातक वा स्नातकोत्तर गर्नुपर्ने अवस्था सिर्जना हुने र यसले सिए डिग्रीलाई प्रत्यक्ष, अप्रत्यक्ष कमजोर बनाउने भएकाले भविष्यमा सिए अध्ययनप्रति नै वितृष्णा जाग्न सक्ने अवस्था देखिएको छ ।

६. यी त केही उदाहरण मात्रै हुन् । यी बाहेक अन्य अरु धेरै ऐनमा भएका व्यवस्थामा समकक्षता अभावले व्यवधान खेप्नुपर्ने समस्या छ ।

यदि समकक्षता आइक्यानले त्रिभुवन विश्वविद्यालयबाट ल्याउन सक्दैन भने, आफूले प्रदान गर्ने डिग्रीका लागि वकालत गर्न सक्दैन भने प्लस टूबाट सिए लिने व्यवस्था खारेज गर्नुपछ । मास्टर सकेपछि मात्रै सिएमा भर्ना लिन थाल्नुपर्छ । मान्नुस् वा नमान्नुस्, आजको मितिमा नेपालमा सिएको डिग्रीले लेखापरीक्षक हुने योग्यतामात्र प्रदान गर्छ ।

७. अन्तर्रास्ट्रिय स्तरमा बेलायतमा UK NAIRC, भारतमा UGC India ले ICAI बाट पास गरेका सिएलाई मास्टर्सको मान्यता दिएको छ । त्रिविभन्दा उच्च वरीयतामा पर्ने विश्वको सयौं विश्वविद्यालयले सिएलाई विद्यावारिधी गर्ने अवसर दिएका छन् । प्रायः सिए पढाइ हुने हरेक देशमा पास गरेका सिएलाई समेत आ–आफ्ना देशका विश्वविद्यालयमा स्नातकोत्तर वा विद्यावारिधी गर्न दिइरहेका बेला नेपालमा भने त्रिवि लगायत कुनै पनि विश्वविद्यालयले समकक्षता नदिँदा नेपाली सिएहरुको क्षमता, ज्ञान र अवसरहरु संकुचित भइरहेका छन् ।

तसर्थ सिएको इन्टरमिडियटलाई स्नातक र सिए फाइनल पासलाई कम्तीमा स्नातकोत्तरको समकक्षता दिइनु व्यवहारिक, यथार्थपरक एवं अन्तर्राष्ट्रिय चलन समेतको सम्मान हुन्छ ।

वैज्ञानिक मापदण्डलाई आधार बनाएर समकक्षता दिँदा हुन्छ । यो विषयले हाल एसिसिए, सिएफए, एक्चुरियल, सिपिए लगायत सिए नसकाएका इग्नु लगायत अन्य विदेशी विश्वविद्यालयबाट स्नातक गरेकाहरुमा नकारात्मक असर परेको छ ।

८. समकक्षतामा रोक लगाउँदा सिए कोर्स एउटा विस्तारका लागि अन्तिम Dead End भएको र थप अध्ययनको लागि पेसागत शिक्षाबाट एकेडेमिक शिक्षामा जाने पुल भत्किने भएकाले समकक्षता आवश्यक परेको हो । ज्ञानको कुनै सीमा हुँदैन । सिए पढेर जागिर खाएर पनि राजनीतिशास्त्र, नेतृत्वशास्त्र, संगीत, भाषा वा धर्म संस्कृतिमा आचार्य वा स्नातक गर्न रहर गर्नेका लागि सबै ढोका बन्द गरिनु अपराध नै हो । सिए पढेकै कारण यस्ता अवसर र क्षमता विस्तार गर्न रोक लगाइन्छ भने व्यक्ति पूर्ण रुपमा प्राविधिक बन्छ । तर सिएले पनि स्वतन्त्र रुपमा अध्ययन गर्न पाउनु पर्छ । हाम्रा लागि सिए सुरुवात हुनुपर्छ, अन्त्य होइन ।

९. जब मार्केटमा सामान्यतया खुला प्रतिस्पर्धा हुने गर्छ । विश्वभरी पढेर उस्तै उस्तै शिक्षा हासिल गरेका विद्वानहरु आफ्नो अनुभव र योग्यताको आधारमा कुनै पदका लागि प्रतिस्पर्धी बनी भिड्नुपर्ने हुन्छ र आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ । तसर्थ सिए नै प्राविधिक रुपमा चाहिने वा सिएबाहेक अरुबाट नहुने योग्यतामा बाहेक सबै पदहरुलाई बेन्चमार्क सेट गर्न एकेडेमिक समक्षताले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । उदाहरणका लागि कुनै सार्वजनिक वा प्राइभेट संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्नका लागि वा कन्ट्री म्यानेजरका लागि नै किन नहोस्, योग्यता सामान्यतयाः स्नातक वा स्नातकोत्तर भनेर माग्नु पर्यो नकि सिए । वा यस्तै सयौं डिग्री होलान् जुन सबै लेख्न व्यवहारिक नहोला । तसर्थ ती सबैलाई समेट्न पनि समकक्षता आधारभूत कढी पक्कै हो ।

१०. सिए सकाएर वा नसकाई मास्टर्स वा विद्यावारिधी समेत गरिसकेको, लेखापरीक्षण पेसामा आबद्ध रहेको तथा थप एकेडेमिक अध्ययनको इच्छा वा आवश्यकता महसुस नगर्ने, प्रोफेसनल डिग्रीभित्र मात्रै प्रतिस्पर्धा गर्छु भनेर बस्ने, प्राइभेट संस्थामा राम्रो पर्फर्मेन्समा जागिर खाएर सन्तुष्ट छ र जागिर छोड्न परे यस्तै अन्य जागिर खाइन्छ भनेर बसेका व्यक्तिलाई भने समकक्षता आवश्यक छैन ।

अन्त्यमा यदि समकक्षता आइक्यानले त्रिभुवन विश्वविद्यालयबाट ल्याउन सक्दैन भने, आफूले प्रदान गर्ने डिग्रीका लागि वकालत गर्न सक्दैन भने प्लस टूबाट सिए लिने व्यवस्था खारेज गर्नुपछ । मास्टर सकेपछि मात्रै सिएमा भर्ना लिन थाल्नुपर्छ । मान्नुस् वा नमान्नुस्, आजको मितिमा नेपालमा सिएको डिग्रीले लेखापरीक्षक हुने योग्यतामात्र प्रदान गर्छ । यो तीतो सत्य हो, यो स्वीकार गरेर नेतृत्वमा बसेकाले राउन्ड टेबलमा तर्क दिन लघुताषास हुनु स्वाभाविक हो । अन्तिम अस्त्र विद्रोह हो । सुतेकालाई ब्युँझाउनुपर्छ, नबुझेका लागि बुझाउनुपर्छ ।

(शर्मा नेपाल चार्टर्ड एकाउन्टेन्टस संघका अध्यक्ष हुन् ।)

Hello

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय