काठमाडौं– साउन ३१ देखि गर्ने भनी तालिका प्रकाशित भएको कक्षा १२ को परीक्षा फेरि स्थगित भएको छ । कोरोना संक्रमणदर बढिरहेको भन्दै १२ कक्षाको परीक्षा स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।
यसअघि वैशाखमा हुने तय भएको परीक्षा ११ र १२ कक्षाको परीक्षा स्थगित गरिएको थियो । गत वर्ष पनि लकडाउनका कारण कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको थियो ।
सोमबारको भर्चुअल पत्रकार सम्मेलनमा उनले कोरोना संक्रमण दर बढेकाले कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका सबै तहको परीक्षा स्थगन गरिएको जानकारी दिए ।
उनले कोभिड–१९ को तेस्रो लहरको जोखिम पनि बढिरहेकाले परीक्षा स्थगन गरिएको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको जानकारी दिए । कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट भदौ ९ गतेसम्म हुने भनिएको थियो ।
‘निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षासम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने बारे शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिनेछ,’ राज्यमन्त्री श्रेष्ठले भने ।









