काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत संन्यास घोषणा गरेका हुन् ।

उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको बताएका छन् । मैदानभित्रका दुई दशक मीठो यादका रुपमा आफूसँग रहने उल्लेख गर्दै खड्काले नेपाली क्रिकेटलाई सबैले मिलेर नयाँ उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् ।

लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गरेका खड्काले सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने निर्णय लिएको बताएका छन् ।

सन् २००२ मा १५ वर्षको हुँदा आफूले क्रिकेट यात्रा सुरु गरेको उल्लेख गर्दै खड्काले आफ्नो जीवनमा देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो भनेका छन् ।

नेपालमा क्रिकेटको विकासका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाको संयुक्त प्रयासको आवश्यकता रहेको खड्काको भनाइ छ । यसका लागि सबैमा इमानदारीको खाँचो भएको उहाँले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।

३३ वर्षीय खड्का सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । उनले सन् २०१९ सम्म कप्तानीको भूमिका निर्वाह गरे ।

खड्काले नेपालका लागि १० एकदिवसीय तथा ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेले । दायाँहाते ब्याटस्म्यान उनले यस क्रममा एकदिवसीयमा ३१५ रन र टी–२० मा ७९९ रन बनाएका छन् ।

दुवै फर्म्याटमा उनले शतक प्रहार गरेका छन् । खड्काले बलिङतर्फ १० एकदिवसीय खेलमा नौ विकेट र ३३ टी–२० मा आठ विकेट लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय