काठमाडौं– राजधानी उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाइ नहुँदा केही दिनयता दिनहँुजसो बिरामी बढेका हुन् ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताल लगायत संस्थामा बिरामीको संख्या दिनानुदिन बढिरहेको छ ।

दैनिक संक्रमित बढेपछि कोभिड–१९ उपचारका लागि छुट्ट्याइएका सघन उपचार कक्ष (आइसियू), हाई डिपेन्डेन्सी युनिट (एचडियू), भेन्टिलेटर र साधारण बेड भरिएका छन् । सशस्त्र प्रहरी बल अस्पतालका डा प्रवीण नेपालले अस्पतालका सबै बेड भरिएको जानकारी दिए । उनका अनुसार १० दिनयता बिरामीको संख्या बढिरहेको छ । ‘संक्रमितहरु आउने क्रम बढेकाले हामीसँग भएका २०० बेड भरिन्छन् होला,’ उनले भने, ‘अहिले बिरामी पनि पहिलेका जस्तै श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने समस्या छ ।’

उनका अनुसार आइसियूमा २०, एचडीयूमा ५० र साधारण बेडमा १३० बिरामी छन् । अहिले संक्रमणको दोस्रो लहर चलिरहेको छ । दोस्रो लहर गत चैतबाट सुरु भएको हो । दोस्रो लहरसँगै बिरामी बढ्न थालेका हुन् । दोस्रो लहरमा संक्रमितलाई ज्वरो आउने, निमोनिया हुने, श्वासप्रश्वासमा समस्या आउनेजस्ता समस्या देखिएको छ । संक्रमणको दोस्रो लहर गत वैशाख अन्तिम सातामा उच्च बिन्दुमा पुगेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुला राखेर जनस्वास्थ्यका मापदण्ड लागू नगरेमा असोज १५ पछि संक्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा जागेश्वर गौतमले विगत दुई हप्तादेखि संक्रमितको संख्या बढ्दै गएको बताए । उनले निषेधाज्ञा खुकुलो भएको, भीडभाड बढेको र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा बिरामी बढ्दै गएको बताए ।
उनका अनुसार अस्पतालमा १०० बिरामी छन् । तीमध्ये ३५ जना आइसीयू र चार जना भेन्टिलेटर र अन्य एचडीयूमा छन् । सङ्क्रमित बढ्ने जोखिमलाई ध्यानमा राखेर अस्पतालले एक हजार बेड तयारी अवस्थामा राखेको उनको भनाइ छ । यहाँ एक सय आइसीयू र १०० भेन्टिलेटर रहेका छन् ।

उनले संक्रमण रोकथाम र नियन्त्रणका लागि अस्पतालमा २० टनको तरल अक्सिजन र दुईवटा अक्सिजन प्लान्ट जोडिएको जानकारी दिए । यस्तै थप एकवटा अक्सिजनको प्लान्ट जोड्ने तयारीमा अस्पताल रहेको छ ।

शुक्रराज अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले निषेधाज्ञा खुलेसँगै बिरामी बढ्दै गएको बताए । उनका अनुसार अहिले २२ जना आइसीयू, २० भेन्टिलेटर र ३५ जना कोभिड–१९ बेडमा छन् । यस्तै पाटन अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा आशिष श्रेष्ठका अनुसार कूल १५१ बिरामीमध्ये २१ आइसीयूमा र १० भेन्टिलेटरमा रहेका छन् । यस्तै विगत २४ घन्टामा पाटन अस्पतालमा २२ संक्रमित भर्ना भएका छन् । पाटनमा ३० आइसियू, १५ भेन्टिलेटर बेड छन् ।

काठमाडौं उपत्यकामा आठ हजार ८९५ सक्रिय संक्रमित छन् । देशभरि १५७ अस्पताल कोभिड–१९ का लागि सूचीकृत गरिएका छन् । ती अस्पतालमा दुई हजार ६०० आइसियू बेड छन् र ६३० थप गर्ने प्रक्रियामा छन् । यस्तै ९०० भेन्टिलेटर र दुई हजार ७५ एचडियू छन् ।

उपत्यकाका सरकारी अस्पतालमा ३११ आइसियू र १३९ भेन्टिलेटर र साधारणसँगै एचडियू दुई हजार ६६ बेड छन् ।

देशभरिमा ६९० जना आइसियू र १७५ भेन्टिलेटर, तीन हजार २२४ जना संस्थागत आइसोलेसन र २८ हजार ४०५ जना होम आइसोलेसनमा छन् । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बेड भरिन थालेको बताए । उनले अहिले १२२ जना संक्रमित बिरामी उपचाररत रहेको जानकारी दिए । तीमध्ये ९१ जना साधारण बेडमा, अक्सिजन दिएर आइसीयूमा ११ र भेन्टिलेटरमा १८ र दुई जना आकस्मिक सेवामा उपचार गराइरहेका छन् ।

उनले बिरामी आउन थालेकाले अब २२ वटा साधारण बेड र एक मात्र आइसियू बेड खाली रहेको बताउ । अस्पतालमा १४५ शय्या कोभिड–१९ का संक्रमितका लागि छुट्ट्ययाइएको छ । त्रिवि शिक्षण अस्पतालमा पाँच एचडियू र २२ आइसियू बालबालिकाका लागि छुट्ट्याइएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भीडभाड बढेकाले संक्रमणसँगै बिरामी पनि बढेको बताए । ‘अहिले केही दिनयता समाजमा सङ्क्रमण बढेका पाइएको छ,’ उनले भने, ‘संक्रमितहरु दिनप्रतिदिन बढेका छन् ।’ उनले निषेधाज्ञा खुकुलो भए पनि सबैले जनस्वास्थ्यका मापदण्ड लागू गर्न आग्रह गरे ।

चितवनबाट पनि अस्पतालका सबैजसो बेड कोभिड–१९ बिरामीले भरिएको खबर आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय