काठमाडौं– जापान सरकारले नेपाललाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार नेपाल आइपुग्ने भएको छ ।
भोलि बिहीबार र पर्सी शुक्रबार जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित जापानी राजदूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
बाँकी खोप सम्बद्ध निकायसँगको समन्वयमा यथाशक्य चाँडो नेपाल ल्याइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा नेपाल सरकारले थालेको कोभिड–१९ खोप अभियानमा जापान निर्मित अस्ट्राजेनेका खोप उपयोग हुने विश्वास नेपालका लागि जापानका राजदूत किकुटा युराकाले व्यक्त गरेका छन् ।
महामारीको वर्तमान कठिन परिस्थितिमा नेपाल सरकारसँग हातेमालो गर्दै धेरैभन्दा धेरै नेपालीको जीवनरक्षा तथा महामारीपछिको सामाजिक एवं आर्थिक पुनरुत्थानमा सहकार्य गर्न जापान तयार रहेको राजदूत किकुटाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सरकारले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी व्यक्तिलाई दिने योजना बनाएको छ । भारतले पैसा भुक्तानी गरिसकेको खोप समेत नपठाएपछि कोभिसिल्डको पहिलो मात्रा लगाएका लाखौं नेपालीले दोस्रो मात्रा लगाउन पाएका छैनन् । कोभिसिल्ड पनि अस्ट्राजेनेकाकै फर्मुलामा भारतमा निर्मित खोप हो ।









