काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारितासम्बन्धी पुस्तक प्रकाशित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार राजधानीमा सेजनले आयोजना गरेको एक समारोहमा ‘आर्थिक पत्रकारिता हाते किताब’ बिमोचन गरेका छन् ।
देशभरका पत्रकारलाई सही ढंगले आर्थिक विषयको समाचार संकलन र सम्प्रेषण गर्न सहयोगी सामग्री दिने उद्देश्यले पुस्तक प्रकाशित गरेको सेजनले जनाएको छ ।
आर्थिक क्षेत्रका सबैजसो विधा समेटिएको पुस्तकमा १४ अध्याय छन् । अध्याय एकदेखि सातसम्म आर्थिक पत्रकारिताको परिचय, समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति र यसका उपकरण, ऋणपत्र बजार, बिमा क्षेत्र, संघीयता र अर्थतन्त्रबारेका सामग्री छन् । अध्याय आठदेखि १४ सम्म पूर्वधार निर्माण, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार, निजी क्षेत्र, श्रम, भ्रष्टाचारको रिपोर्टिङ र आर्थिक पत्रकारितामा अंक र आचार संहिताबारेका सामग्री छन् ।
विश्व बैंकको सहयोगमा तयार गरिएको पुस्तकमा आर्थिक विषयवस्तुलाई सहज बनाउनुका साथै सैद्धान्तिक पक्षसँगै उदाहरण, पत्रकारले बुझ्नुपर्ने मुद्दा र प्रश्नहरू समावेश गरिएको छ ।
बिमोचन कार्यक्रममा अर्थमन्त्री शर्माले पुस्तक आर्थिक विषयमा जानकारी लिनको लागि उपयोगी हुने बताए । ‘आर्थिक क्षेत्रमा काम गर्ने र रुचि राख्ने सबैलाई यो पुस्तक निकै उपयोगी हुन्छ,’ शर्माले भने । उनले पुस्तकमा सैद्धान्तिक पक्षका साथै अर्थ पत्रकारिताको आचार संहिता समेत राखिएकोले मर्यादित पत्रकारितामा सहयोग पुग्ने बताए ।
आर्थिक विषयमा कलम चलाउन रुचाउनेको लागि यो महŒवपूर्ण हुने उनको भनाइ छ । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने देशीय निर्देशक फारिस हदाद जर्भोसले अर्थ पत्रकारिताको विकासको लागि पुस्तक महŒवपूर्ण सामग्री हुने बताए । उनले अर्थ र वित्त क्षेत्रमा कलम चलाउन रुचि राख्नेको लागि यो उपयोगी हुने बताए ।
त्रिभुवन विश्वविद्यालय, पत्रकारिता विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले अर्थका विषयमा कम जानकारी भएकाले अझै पनि अर्थतन्त्रका विषयले सञ्चार माध्यममा कम ठाउँ पाएको भन्दै अर्थ पत्रकारिताको महŒव बढाउन पुस्तक उपयोगी हुने बताए । उनले यो पुस्तक पत्रकार, पत्रकारिताको विद्यार्थी तथा अध्येताहरुको लागि सहयोगी हुने बताए ।
नेपाल आर्थिक पत्रकार समाज सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले अर्थ पत्रकारिताको लागि पुस्तक कोशेढुंगा हुने बताए । पुस्तकका लेखक प्रेम खनालले लामो समयको प्रयासपछि पुस्तक तयार भएको जानकारी दिँदै यसले आर्थिक पत्रकारितालाई सहज बनाउन सहयोग पुग्ने बताए ।









