काठमाडौं– चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको गत आर्थिक वर्षको खुद नाफा घटेको छ । बिजुली बिक्रीबाट प्राप्त आम्दानीमा आएको गिरावटको असर कम्पनीको खुद नाफामा परेको हो ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७–०७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार उसको खुद नाफा अघिल्लो वर्षको तुलनामा ५.८७ प्रतिशतले घटेर ७० करोड १८ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष चिलिमेको खुद नाफा ७४ करोड ५५ लाख ९० हजार रुपैयाँ थियो ।
बिजुली बिक्रीको आम्दानी घट्दा कम्पनीको खुद नाफामा गिरावट आएको हो । अघिल्लो वर्ष बिजुली बिक्रीबाट १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको चिलिमेले आर्थिक वर्ष २०७७–०७८ मा १ अर्ब १२ करोड ८० लाख ५२ हजार कमाएको छ । गत वर्ष कम्पनीको सञ्चालन मुनाफा ५.१९ प्रतिशतले घटेको वित्तीय विवरणमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्ष ७९ करोड ५३ लाख ७७ हजार रुपैयाँ सञ्चालन मुनाफा रहेको कम्पनीको गत आर्थिक वर्ष २०७७–०७८ को सञ्चालन मुनाफा ७५ करोड ४१ लाख २३ हजारमा सीमित भएको छ ।
बोनस सेयर वितरण गरेका कारण कम्पनीको चुक्ता पुँजी भने १० प्रतिशत बढेर ६ अर्ब २८ करोड ७ लाख ३९ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजीमा भएको वृद्धि र खुद नाफामा आएको गिरावटले गर्दा गत वर्षको मुनाफाबाट चिलिमेका सेयरधनीले पाउने लाभांश पनि घट्नेछ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ १७ पैसा मात्रै छ ।
कम्पनीको जगेडा कोष पनि घटेको छ । जगेडा कोष १०.३९ प्रतिशतले घटेर ३ अर्ब ८५ करोड ६५ लाख ८२ हजार रुपैयाँ कायम भएको वित्तीय विवरणमा उल्लेख छ । चिलिमेको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात ६१.५० गुणा छ ।









