काठमाडौं– मुलुकको राजस्व संकलनमा भन्सारको योगदान बढ्दै गएको देखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदसमक्ष देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिने क्रममा बताए अनुसार चार वर्षको अन्तरालमा कुल राजस्व संकलनमा भन्सार बिन्दुको योगदान ४१ बाट ४४.७ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०७३–७४ मा संकलित कुल राजस्वमा भन्सार बिन्दुबाट संकलितको अंश ४१.० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७–७८ उक्त अनुपात ४४.७ प्रतिशत पुगेको छ । त्यसैगरी, आर्थिक वर्ष २०७३–७४ को कुल गार्हस्थ उत्पादनको अनुपातमा कुल राजस्व परिचालन १९.८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७–७८ मा उक्त अनुपात बढेर २२ प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्ष २०७७–७८ मा चालु खर्च पनि धान्न नसक्ने राजस्व संकलन भएको छ । सो वर्षको कुल राजस्व ९ खर्ब ३८ अर्ब रुपैयाँमा संघीय राजस्व ८ खर्ब २९ अर्ब रुपैयाँ छ । उक्त रकमले चालु खर्च पनि धान्दैन । विगत आर्थिक वर्षहरुमा राजस्व संकलन बढे पनि यसलाई दिगो मान्न सकिने आधार नदेखिएको अर्थमन्त्री शर्माले बताए ।
उनका अनुसार देशको राजस्व मूलतः आयातमा आधारित रहेकोले आयात बढ्दा राजस्व बढ्ने र घट्दा घट्ने प्रवृत्ति छ । विगत केही वर्षदेखि कुल गार्हस्थ उत्पादनको अनुपातमा कुल राजस्व परिचालन बढ्दै गए पनि समग्र राजस्वमा आन्तरिक राजस्वको अंश बढ्न नसक्दा राजस्व परिचालनमा दिगोपन कायम हुन नसकेको अर्थमन्त्री शर्माले बताए ।
उपभोग तथा आयातमा आधारित राजस्वलाई उत्पादनमुखी राजस्व प्रणालीमा रुपान्तरण गर्दै फराकिलो दायरा भएको, चुहावटरहित, सरल, सबल र दिगो बनाउने गरी स्रोत परिचालन गर्दै जानुपर्ने आवश्यकता श्वेतपत्रमा औंल्याइएको छ ।









