काठमाडौं– दुबई जान भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका एक सय ५० यात्रुलाई सोमबार मध्यरातमा घर फर्काइएको छ ।
दुबईले विमानस्थलमा एन्टिजेन परीक्षण गरेका यात्रुलाई मात्रै आफ्नो मुलुकमा प्रवेश दिने जानकारी गराएपछि उनीहरुलाई मध्यरातमा फिर्ता पठाएर रित्तै विमान दुबई पठाउनुपरेको विमानस्थल कार्यालयले जनाएको छ । यताबाट यात्रु लैजान नपाएका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको उताका यात्रु लिन रित्तै गएका हुन् ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आरए २२९ र हिमालय एयरलाइन्सको एचएन ५६५ उडानमार्फत दुबई जान विमानस्थल पुगेका यात्रुलाई दुबईको नागरिक उड्डयन प्राधिकरणले लागू गरेको नयाँ नियमका कारण अन्तिम घडीमा फर्काउनुपरेको हो ।
दुबईले नेपालबाट जाने यात्रुलाई ४८ घन्टाभित्र गरिएको पिसिआर र उड्नुभन्दा चार घन्टाअघि विमानस्थलमै गरिएको (एन्टिजेन परीक्षण) कोरोना र्यापिड टेस्टको रिपोर्ट अनिवार्य गरेपछि हिमालय एयरलाइन्सका ९० र नेपाल एयरलाइन्सका ६० यात्रु उड्न नपाएको विमानस्थल कार्यालयले जनाएको छ ।
उड्न नपाएका यात्रु आक्रोशित बन्दा सोमबार राति त्रिभुवन विमानस्थल केहीबेर तनावग्रस्त बनेको थियो । यात्रुले होहल्ला गरेपछि प्रहरीसमेत बोलाएको विमानस्थल स्रोतले जानकारी दियो । खल्तीमा पैसा नभएका केही यात्रुबीच रुवाबासी नै चलेको प्रत्यक्षदर्शीले बताए ।
राति १ बजेतिर घर जान इच्छुक यात्रुलाई घर फर्काइएको र बसोबासको व्यवस्था नभएकालाई होटलमा राखिएको हिमालय एयरलाइन्सले जनाएको छ ।हिमालयले बसोबासको व्यवस्था नभएका यात्रुलाई जमलको प्यासिफिक होटलमा राखेको छ ।
हिमालयको सेवा सुधार शाखा प्रमुख उज्ज्वला दलीका अनुसार सात अगस्टकै नियम अनुसार हिमालय एयरलाइन्सको जहाजमार्फत दुबई जान कोरोना परीक्षणको रिपोर्ट, खोप लगाएको प्रमाण बोकेर यात्रु विमानस्थल पुगेका थिए । तर नेपालबाट युएई प्रवश गर्नेका लागि तोकेका मापदण्डमा परिवर्तन भएको नयाँ नियम साँझ ६ बजेमात्रै विमान कम्पनीलाई प्राप्त भएकाले यात्रुलाई विमानस्थलबाट फर्काउनुपरेको उनले बताइन् । राति ११ बजेका लागि तय भएको उडान नियम परिवर्तन ढिला भएको र पछि उताका यात्रु ल्याउन रित्तै दुबई पुगेको उनले बताइन् ।
सोमबार फर्काइएका यात्रुलाई सरकारले विमानस्थलमै एन्टिजेन परीक्षणको व्यवस्था भएपछिको पहिलो उडानमा प्राथमिकता दिने र टिकट फिर्ता गर्न चाहनेलाई त्यो सुविधा दिने दलीले जानकारी दिइन् । दुबई सरकारले पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेको भन्दै नयाँ नियम लागू गरेपछि दुबई उडान नै अनिश्चित बनेको छ ।
विमानस्थल नजिकैको काठमाडौं मेडिकल कलेजबाट एन्टिजेन परीक्षण गराएका यात्रुलाईसमेत विमानस्थलमै गरिएको एन्टिजेन परीक्षण रिपोर्ट चाहिने भन्दै उडानमा रोक लगाइएको थियो । त्रिभुवन विमानस्थलमा एन्टिजेन परीक्षणको व्यवस्था छैन । रित्तै विमान दुबई उडाएको नेपाल वायुसेवा निगमका जिम्मेवार अधिकारी भने सम्पर्कमा आएनन् ।









