काठमाडौं- कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोडेर्ना खोपको ४० लाख मात्रा खरिद गर्न गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ । यस सम्झौतासँगै नेपालको कोभिड-१९ विरूद्धको खोपको पुँजीको विविधीकरण र सुदृढीकरण भएको छ ।
‘कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल सुरुआती देशहरूमध्येको एक हो र चुनौतीपूर्ण परिस्थितिका बाबजुद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउन यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु,’ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भने। ‘मोडेर्ना खोपले १२ वर्ष उमेरमाथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरु विस्तार गर्न मद्दत गर्नुका साथै कोभिडपछिको सुरक्षित विश्वका लागि नेपालको प्रगतिलाई द्रुत गति दिन समेत सघाउने भएको छ ।’
यी खोपहरू नेपालमा सन् २०२२ को मार्च महिनासम्म आइपुग्ने अपेक्षा गरिएको छ र यसले नेपालका ७२ प्रतिशत जनसंख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ ।
‘कोभ्याक्स सुविधा मार्फत कोभिड विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरू खरिद गर्नका लागि लगानी गरी विकासका साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित भएका छौं,’ माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने, ‘यस सहयोग हाम्रो समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश हो जसले नेपालको आपतकालिन स्वास्थ्य क्षेत्रको माग पूरा गर्न र स्वास्थ्यसेवा एवं खोप वितरण प्रणालीलाई सबल बनाउन सहयोग गर्नेछ ।’ जर्भोसले भने ।
नेपाल सरकारको महामारी विरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १०४ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ, जसअन्तर्गत कोभिड-१९ विरूद्धका खोप खरिद र विस्तारका लागि ६७.५ मिलियन विनियोजन गरिएको छ । अघिल्लो महिनामा विश्व बैंकका तर्फबाट १००० थान अक्सिजन कन्सन्ट्रेटरहरू र सातवटा अक्सिजन जेनेरेटर प्लान्टहरू ल्याइएको थियो जुन सातैवटा प्रदेशहरूमा स्थापना गरिँदैछ । यी कार्यहरूले भविष्यमा आउन सक्ने महामारीका अन्य लहरहरूसँग जुध्नका लागि सरकारको स्वास्थ्य प्रणाली तयारीलाई सुदृढ बनाउन सहयोग गर्नेछ ।
कोभ्याक्ससँगको लागत साझेदारी विकल्प उपयोग गर्ने विश्वका सुरूआती देशहरूमध्यको एक र दक्षिण एसियाकै पहिलो देश बनेकोमा विश्व बैंकले नेपालको सराहना गरेको छ । ‘विश्व बैंकका लागि दक्षिण एसियाका भाइस प्रेसिडेन्ट हार्टविग सेफरले भनेका छन्, ‘यो अभूतपूर्व संकटबाट नेपाली जनता र अर्थतन्त्रलाई उकास्न र उत्थानशीलता सुनिश्चत गर्न नेपालका लागि कोभिड-१९ खोप कार्यक्रम अत्यन्तै महत्वपूर्ण छ र यसका लागि सहयोग र समर्थन जारी राख्न विश्व बैंक पूर्ण रूपमा प्रतिबद्ध छ ।’









