रसुवा– पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण सम्पन्न गरी काठमाडौं फर्कने क्रममा माथिबाट खसेको ढुंगाले लागेर एक पदयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा धादिङ घर भई भक्तपुरस्थित काँडाघारीको न्यु स्टारपोल इङ्लिस बोर्डिङमा कार्यरत ४५ वर्षका शिक्षक राजु लामा हुन् ।
उनको मृत्यु दोभेन र रिम्चेबीच बम्बो इलाकामा भएको थियो । भ्रमण सम्पन्न गरी लाङटाङबाट स्याफ्रुबेसी फर्किंदै गर्दा एक्कासि भिरबाट खसेको ढुंगाले लागेर लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।
साउन २६ गते घुमफिरका लागि सेर्पागाउँको पदमार्ग हुँदै उनीसहित अरु तीनजना लाङटाङतर्फ गएका थिए । फर्कने क्रममा खोला किनारको बाटो हुँदै फर्किरहेको अवस्थामा घटना भएको प्रहरीको भनाइ छ ।
लामाको शव नेपाल प्रहरीले घटनास्थलबाट रिम्चे पु¥याएको र स्याफ्रुबेसी झार्नका लागि नेपाली सेना पठाइसकिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार उद्धरकर्मीले आज साँझसम्म शव धुन्चे ल्याइपुर्याउने अपेक्षा छ ।









