काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको नियुक्ति खारेज गर्न माग गर्दै सर्वाेच्च अदालतमा सोमबार रिट निवेदन दर्ता गरेका छन् । उनले आफूलाई गैरकानुनी रुपमा पदबाट हटाएकोले उक्त निर्णयको कार्यान्वयन रोक्दै आफूलाई यथास्थितिमा राख्न माग गरेका छन् ।
शाक्यले रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, घिसिङ लगायतलाई विपक्षी बनाएका छन् ।
गत साउन २५ गतेको मन्त्रिपरिषद् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगको विज्ञ सदस्य बनाएको छ । शाक्यले भने पूर्वसहमति विपरीत आफूलार्य आयोगमा विज्ञ सदस्य बनाउनु गैरकानुनी भएको दाबी गरेका छन् ।
आफूले प्राधिकरणको कार्यकारी निर्देशकबाट राजीनामा नदिएको अवस्थामा सोही पदमा घिसिङलाई नियुक्त गर्न नमिल्ने जिकिर गरेका छन् । ‘सो निर्णय तथा सो सम्बद्ध सबै कामकारवाही उत्प्रेषणको आदेशले बदर गरी मलाई मेरो साबिक बमोजिमको पदमा नै काम गर्न दिनू र सो काममा पूर्ण सहयोग गर्नू भनी विपक्षीको नाममा परमादेश समेत जारी हुनुपर्ने देखिन्छ,’ शाक्यले रिट निवेदनमा भनेका छन् ।
उनले आफूलाई प्राधिकरणबाट राजीनामा दिए अन्य आकर्षक नियुक्ति दिने प्रलोभन देखाएको र राजीनामा नदिएपछि सरकारले साउन २७ गते इमेलमार्फत जल तथा ऊर्जा आयोगको विशेषज्ञ सदस्यमा नियुक्त गरेको जानकारी गराएको उनले जनाएका छन् ।
मन्त्रिपरिषद्को २०७८ साउन २५ गतेको बैठकले प्राधिकरणको कार्यकारी निर्देशक पदमा खाईपाई आए सरहको पारिश्रमिक तथा सुविधा उपलब्ध गराउने गरी शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य पद (नेपाल सरकारको विशिष्ट श्रेणी सरह)मा पूरा समय काम गर्ने चरी चार वर्षको लागि नियुक्ति गरेको थियो । घिसिङले साउन २७ गते कार्यकारी निर्देशक पदको कार्यभार सम्हालेका थिए ।
घिसिङको पहिलो चारवर्षे कार्यकाल २८ भदौं २०७७ मा सकिएको थियो । त्यसपछि भदौ ३१ गते प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशक बनाइयो । तत्कालीन सरकारले एनइए इन्जिनियरिङ कम्पनीमा काजमा रहेका शाक्यलाई २१ कात्तिक २०७७ मा प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशक बनाएको थियो । २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो ।









