सुर्खेत– कर्णाली प्रदेश सरकारले भदौ ४ गते शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिन लागेको हो ।
२०७८ वैशाख ७ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा भदौ ४ गते प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने सूचना गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए ।
२०७२ साउन २३ गतेदेखि प्रदेशमा भदौ ४ गतेसम्म सञ्चालन भएको आन्दोलनले नेपालको कान्छो प्रदेशका रुपमा कर्णाली प्रदेश स्थापना गरेको थियो । प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको मृत्यु भएको थियो । उनीहरुको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष प्रदेश स्थापना तथा सहिद दिवस मनाउँदै आएको छ ।









