बिराटनगर– कोरोना महामारीका कारण उद्योग–व्यवसाय लगायतका क्षत्रले भोग्नु परेका व्यवसायीक समस्यालाई दृष्टिगत गरी विभिन्न उद्योग–प्रतिष्ठानका संचालक र उच्च व्यवस्थापकको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना तथा नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको सहयकार्यमा संकटको समयमा व्यापारको पुनः रणनीतिकरण विषयक उत्प्रेरणामूलक कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विश्वव्यापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै क्षेत्रलाई निराश तुल्याएको समयमा उद्योगी व्यवसायीले आफनो व्यवस्थापकीय क्षमतालाई अभिवृद्धि गर्दै दीर्घकालिन रणनीति तर्जुमा गर्नुपर्ने धारणा राख्दै उनले संगठनद्धारा आयोजित फरक धारको यस कार्यक्रमका माध्यमबाट उद्योगी व्यवसायीलाई उत्प्रेरणा मिल्ने बताए ।

कार्यक्रमका संयोजक एवं संगठनका कार्यसमिति सदस्य सौरभ शारडाले आर्थिक विकासका शुत्रधारका रुपमा रहेका उद्योगीले वर्तमान समयमा सामना गर्नुपरिरहेको आन्तरिक र बाह्रय चूनौतिलाई मध्यनजर गर्दै आयोजना गरिएको यस कार्यक्रमले उद्योगीलाई आगामी दिनमा आफनो कार्यदिशा, योजना र रणनीति विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको समन्वयकर्ता संस्था फेक्ट नेपालका कार्यकारी निर्देशक मनिष झाले कोरोना महामारीले विश्वविख्यात मल्टिनेसनल कम्पनीलाई समेत आफनो व्यवसायीक रणनीतिलाई पुनः समिक्षा गर्न वाध्य वनाएको उदाहरण प्रस्तुत गर्दै उद्योगीले अबका दिनमा एक व्यवसायीक योजनामा मात्र सिमित नभई अन्य विकल्पलाई समेत आत्मसात गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा श्रोत व्यक्ति साउथ एसिया सोसाईटी अफ एन्टरप्रेनर्स एडुकेटर्सका अध्यक्ष आशुतोष तिवारीले उद्योगीले सकारात्मक सोचका साथ नया दृष्टिकोणबाट आगामी दिनमा गुणस्तरीयतालाई ध्यानमा राखी आक्रामक वजारीकरणको माध्यमबाट खर्च न्यूनिकरण गर्दै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने उपायका सम्वन्धमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे, नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष युनेशराज श्रेष्ठले उद्योगीलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले सबैलाई आगामी कार्यदिशा तय गर्न उर्जा प्राप्त भएको धारणा राखेका थिए ।

कार्यक्रम यस क्षेत्रका उद्योगी–व्यवसायी, महिला उद्यमीहरु, बैंकर्स, प्रध्यापक र विभिन्न उद्योग प्रतिष्ठानका उच्च व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय