काठमाडौं– पछिल्लो २४ घन्टामा एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर संक्रमितको संख्या आठ लाख २९ हजार ४४३ पुगेको छ ।
गत २४ घन्टामा आठ हजार ७०४ जनाको पिसिआर र दुई हजार ६२२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ५४८ तथा एन्टिजेनबाट २५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म सात लाख ९७ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा देशभर एक हजार ९२४ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९३.५ प्रतिशत छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ ।
बितेका २४ घन्टामा देशभर १२ हजार ३४४ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६७९ संक्रमितको सघन उपचार कक्षमा तथा १७६ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।
उपत्यकामा ७०८ संक्रमित
राजधानी उपत्यकामा पछिल्लो समय ७०८ संक्रमित थपिएका छन् । काठमाडौंमा ४४१, ललितपुरमा १६७ तथा भक्तपुरमा १०० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या सात हजार १८२, भक्तपुरमा एक हजार ४११ तथा ललितपुरमा दुई हजार २४० छ ।
पछिल्लो समय देशमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ५३३ पुगेको मन्त्रालयले जनाएको छ ।









