काठमाडौं– ओमान र अमेरिकासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थान गरेको छ । सत्र खेलाडीसहित २२ सदस्यीय टोली मंगलबार बिहान त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेका हुन् ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहलगायतले बिदाइ गरेका हुन् ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनास बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव सिरिज खेल्न ओमान गएको हो ।

यस्तै टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश कासिभाइ गोहित रहेका छन् । ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ ।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्नेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले यही भदौ २० र २३ गते ओमानमा पपुवा न्यूगिनीसित दुई एकदिवसीय खेल खेल्ने तय भएको क्यानका अध्यक्ष चन्दले जानकारी दिए ।

विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्यान्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अंक जोडेको छ । नेपाल आफ्नो समूहको अंक तालिकाको छैठौं स्थानमा रहेको छ ।

यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईमा हार व्यहोर्दै १६ अंकसहित शीर्षस्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अंकसहित दोस्रोमा छ । स्कटल्यान्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अंक जोड्दै तेस्रो स्थानमा छ । स्कटल्यान्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अंकसहित चौथो स्थानमा छ ।

त्यसैगरी, युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अंक जोड्दै पाँचौं स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ ।

पपुवा न्यूगिनी अंकविहीन बन्दै लिग–२ को पुछारमा छ । लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय