काठमाडौं– मनसुनी वायु सक्रिय रहेका कारण मौसममा सुधार आउन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय छ । ‘अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ,’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।
शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोे छ । त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ ।
हाल देभभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरेहको र वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २०.६ डिग्री र अधिकतम तापक्रम २४.५ डिग्री सेल्सियस छ । त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६.५ डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३.७ डिग्री सेल्सियस छ ।









