काठमाडौं– देशको राजधानी जिल्ला काठमाडौंमा कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गतेदेखि भदौ १३ गतेसम्म लगाइने भएको छ ।
भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रिबहादुर खड्काले बताए । उनका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष वा सोभन्दा माथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ ।
यसैगरी, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप पाउने छन्। सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा
खोप दिइनेछ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप दिइनेछ । काठमाडौंका सबै स्थानीय तहमा १४६ खोप केन्द्रको व्यवस्था गरिएको छ ।
यस्तै काठमाण्डौ महानगरपालिकामा बस्ने सर्वसाधारणका लागि आठ खोप केन्द्र थपिएका छन् । जसमा राधास्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल छन् ।









