काठमाडौं– साताको अन्तिम दिन बिहीबार सेयर बजारको तथ्यांकीय मापक नेप्से १७.६० बिन्दुले उकालो लागेको छ ।
१८१ कम्पनीको धितोपत्रको किनबेच भएको बजारमा ७९ कम्पनीका सेयरधनीले गुमाएका छन् । यस दिन आठवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस दिन नाफा कमाउने कम्पनीको संख्या १०२ छ ।
१० प्रतिशतले नाफा कमाउने कम्पनीमा नारायणी विकास बैंक, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी, गुह्येश्वरी मर्चेन्ट फाइनान्स कम्पनी, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रो र जीवन विकास लघुवित्त छन् ।
त्यसैगरी, अरु ६ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९१ रुपैयाँको कारोबार भएको बजारमा २ करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर किनबेच भएको छ । अघिल्ला दुई दिन क्रमशः ५५ र ४५ बिन्दुले ओरालो लागेको नेप्से बिहीबार १७.६० ले बढेर ३०९४.०५ बिन्दुमा पुगेको छ ।









