काठमाडौं– गत आर्थिक वर्ष २०७७–७८ मा नेपालको कुल वस्तु निर्यात १४१ अर्ब १२ करोड पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ४४.४ प्रतिशतले बढी हो । छिमेकी मुलुक चीनतर्फको निर्यात भने १४.७ प्रतिशत घटेको तथ्यांक सार्वजनिक भएको छ ।
चीनले कोरोना संक्रमणको डरले नाका बन्द गर्दा नेपालबाट हुने निकासी घटेको हो । गत वर्ष गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ५१.७ प्रतिशत र २७.७ प्रतिशतले निर्यात वृद्धि भएको नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७–०७८ को देशको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा उल्लेख छ ।
गत वर्ष चीनतर्फको निर्यात १४.७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, धागो (पोलिसटर तथा अन्य), जुटका सामान, ऊनी गलैंचा लगायत वस्तुको निर्यात बढेको छ । पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायत वस्तुको निर्यात भने घटेको छ ।
चीन र भारतलाई नेपाली वस्तुको प्रमुख बजार बनाउनुपर्ने चर्चा चलिरहेको बेला चीनतर्फतको निर्यात घटेको छ ।









