काठमाडौं– नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा झण्डै १४ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७–०७८ अन्तिमसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत वर्ष नेपालले अन्तर्राष्ट्रिय व्यापारमा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ घाटा पुगेको हो ।

निर्यातको तुलनामा आयातको आकार निक्कै ठूलो हुँदा कुल व्यापार घाटा २७.३ प्रतिशतले बढेकोे प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७–७८ मा १५३९ अर्ब ८४ करोडको वस्तु नेपालमा आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा २८.७ प्रतिशतले बढी हो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.१ प्रतिशत, २८.६ प्रतिशत र १९.६ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, चामल, सुन लगायत वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूर्जा, कोल्डरोल्ड सिट इन क्वाइल, सुपारी लगायत वस्तुको आयात घटेको छ ।

सो वर्ष कुल वस्तु निर्यात १४१ अर्ब १२ करोड पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ४४.४ प्रतिशतले बढी हो । छिमेकी मुलुक चीनतर्फको निर्यात भने १४.७ प्रतिशत घटेको तथ्यांक सार्वजनिक भएको छ ।

चीनले कोरोना संक्रमणको डरले नाका बन्द गर्दा नेपालबाट हुने निकासी घटेको हो । गत वर्ष गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ५१.७ प्रतिशत र २७.७ प्रतिशतले निर्यात वृद्धि भएको नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७–०७८ को देशको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा उल्लेख छ ।

गत वर्ष चीनतर्फको निर्यात १४.७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, ऊनी गलैंचा लगायत वस्तुको निर्यात बढेको छ । पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायत वस्तुको निर्यात भने घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय