काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा डेढ अर्बभन्दा बढीको वस्तु आयात भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालु आव २०७८–७९ को पहिलो महिनाको तथ्यांकअनुसार गत साउनमा एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो ।

गत आव २०७७–७८ को पहिलो एक महिना ८५ अर्ब ८० करोड ७९ लाख बराबरको आयात गरिएको थियो । सो अवधिका तुलनामा चालु आवमा ७५.६६ प्रतिशतले आयातमा वृद्धि भएको हो ।

यस्तै चालु आवको पहिलो एक महिनामा २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । अन्य आवका तुलनामा चालु आवको एक महिनामा निर्यातमा उच्च रुपमा वृद्धि भएको हो । गत आवको सोही अवधिमा नौ अर्ब ६२ करोड बराबरका स्वदेशी सामग्री निर्यात गरिएको थियो । तथ्यांक अनुसार गत वर्षको तुलनामा निर्यात ११५.८५ प्रतिशतले बढेको हो ।

गत आव २०७७–७८ को पहिलो एक महिनाको तुलनामा चालू आवको पहिलो एक महिनामा निर्यातसँगै आयातमासमेत वृद्धि भएको छ । त्यसैगरी नेपालले साउनमा मात्रै एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापार घाटा बेहोरेको छ । गत वर्षको सोही अवधिमा ७६ अर्ब १८ करोड ७९ लाख बराबरको व्यापार घाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु आवमा ७०.५९ प्रतिशतले व्यापार घाटा बढेको हो ।

पेट्रोलियम पदार्थको आयात

विभागले सार्वजनिक गरेको एक महिनाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै आयात हुने सामग्रीको उच्च स्थानमा पेट्रोलियम पदार्थ छ । एक महिनामा १८ अर्ब १३ करोड बढीको पेट्रोलियम पदार्थको आयात तथ्यांकमा उल्लेख छ ।

नेपालमा तेस्रो देशबाट तेलका लागि आवश्यक कच्चापदार्थ आयात गरी नेपालमा प्रशोधन गरी पुनः तेस्रो मुलुक पठाइन्छ । एक महिनामा नेपालबाट ११ अर्ब ९३ करोडभन्दा बढीको तेलजन्य वस्तुको निर्यात गरिएको छ ।

१०२ देशबाट आयात

एक महिनाका अवधिमा १०२ देशबाट एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्यांक अनुसार एक महिनाको अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

भारतबाट ८९ अर्ब ४८ करोड ६३ हजार बराबरको आयात भएको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट एक महिनामा २० अर्ब ९७ करोड ६६ लाख बराबरको आयात भएको छ । एक महिनाको अवधिमा भारतमा १६ अर्ब ८३ करोड ६९ लाख र चीनमा आठ करोड बराबरको निर्यात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय