काठमाडौं– नवनियुक्त सचिवहरुलाई अर्थ मन्त्रालयमा स्वागत गरिएको छ । आइतबार आयोजित स्वागत समारोहमा अर्थमन्त्री जनार्दन शर्माले राजस्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाएका सचिव सुमनराज अर्याललाई स्वागत गरेका हुन् ।
योसँगै अर्थ मन्त्रालयमा उच्च पदस्थ अधिकारीहरुको नयाँ टिमले पूर्णता पाएको छ । नवनियुक्त सचिवहरुलाई स्वागत गर्दै मन्त्री शर्माले मन्त्रालय अन्तर्गतका तीनजना सचिवहरुको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट सम्पादन गर्न निर्देशन दिए ।
वित्त व्यवस्थापन (मूलतः अर्थोपार्जन), त्यसको समूचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका सचिवहरुबाट आ–आफ्नो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास उनले व्यक्त गरे । त्यस क्रममा मन्त्री शर्माले यसअघि आफूले राजस्व वृद्धि, भन्सार, सावजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धान लगायत विषयमा आफूले माग गरेका योजनाहरु यथाशक्य चाँडो पेस गर्न समेत निर्देशन दिए ।
अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकहरुमा सकारात्मक परिणाम दिन सके मात्र आफूहरुले काम गरेको ठहर्ने भएकोले सोही अनुसार खटिनुपर्नेमा जोड दिए । राजस्व वृद्धि, पुँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनैपर्ने आवश्यकता औंल्याउँदै सचिव मरासिनीले संविधानको भावना र वर्तमान सरकारको भिजन अनुसार समाजवादी अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी आफूहरुमा रहेको बताए ।
स्वागत कार्यक्रममा नवनियुक्त राजस्व सचिव कृष्णहरि पुष्कर कर्णले ब्युरोक्रेसीमा अनुभवी व्यक्ति धेरै रहेको तर ‘पर्फर्मर’ कम देखिएको स्वीकार गर्दै देशभर रहेका अन्य सरकारी कार्यालयले समेत स्वामित्व महसुस गर्ने गरी काम गर्ने गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले करदातामैत्री सेवा प्रवाहमा जोड दिनुका साथै राजस्व तथा भन्सार प्रशासनमा ‘इम्पोर्टेड ट्रेन्ड’ भन्दा ‘होम ग्रोन ट्रेन्ड’का आधारमा काम गरिने बताए ।
नवनियुक्त महालेखा नियन्त्रक सुमनराज अर्यालले नीतिगत सुधार व्यावसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर महालेखाको कार्यप्रणालीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाए । उनले सरकारी खर्च प्रणालीमा वित्तीय अनुशासनको पक्ष महत्त्वपूर्ण रहेकोमा जोड दिँदै त्यसको लागि आफ्नो तर्फबाट सक्दो योगदान हुने विश्वास दिलाए ।









