काठमाडौं– सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न तयार रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सँग सोमबार महासंघको सचिवालयमा आयोजित छलफल कार्यक्रममा अध्यक्ष श्याम गिरीले सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने विषयमा महासंघ प्रतिबद्घ रहेको बताए ।
उद्योगमा काम गर्ने कामदारको सुरक्षा महासंघको प्रमुख प्राथमिकता रहेको भन्दै उनले उद्योगमा कार्यरत श्रमिकसँगको सम्बन्धलाई महासंघले सधैं उच्च प्राथमिकतामा राख्दै आएको बताए ।
यो कार्यक्रमको अवधारणा महासंघले वर्षौंदेखि उठाउँदै आएको जानकारी दिंदै अध्यक्ष गिरीले भने, ‘तर घोषणा गर्ने क्रममा अर्थ मन्त्रालयले उद्योगीहरुमा केही भ्रम पैदा गरेको हुनाले अलमल भएको हो ।’
सो अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) वाग्मती प्रदेश संगठन कमिटीले सामाजिक सुरक्षा कार्यान्वयनसम्बन्धी ध्यानाकर्षण पत्र महासंघलाई बुझाएको थियो ।
ध्यानाकर्षण पत्र महासंघलाई बुझाउँदै जिफन्ट वाग्मती प्रदेश संगठन कमिटीका अध्यक्ष रामहरि नेपालले न्यून पारिश्रमिकमा अधिकतम उत्पादकत्व सम्भव नभएको भन्दै निश्चिन्त भएर काम गर्ने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिए ।
२०७५ मंसिर ११ गते नेपाल सरकारद्वारा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा घोषणा समारोहमा नेपालका सबै उद्योगी, व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, ट्रेड युनियन महासंघ तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को समेत सहभागिता रहेको जानकारी दिँदै उनले नेपालका उद्योगी, व्यवसायीका प्रतिनिधिले कोषको कार्यान्वयन गर्ने प्रतिबद्घताका साथै कोषको सञ्चालक समितिमा समेत रहेको बताए ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्षद्घय हरिहर थापा र मोहन कटुवाल, महासंघ महिला समिति उपाध्यक्ष रोशनी उपाध्याय, जिफन्टका तर्फबाट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, जिफन्ट वाग्मती प्रदेश संगठन कमिटीका अध्यक्ष रामहरि नेपाल लगायतको सहभागिता थियो ।









