काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो राखेर लिएको ऋणबाट सेयर नै किन्ने प्रवृत्तिलाई निरुत्साहित गर्न मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा सीमा तोकेको बताएका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने सेयर धितो कर्जा प्रभावित नहुने पनि उनले प्रस्ट पारेका छन् ।

नेपाल उद्योग परिसंघको कार्यक्रम ‘परिसंघमा परिचर्चा’मा गभर्नर अधिकारीले सेयर धितोमा ऋण लिई सेयर बजारमै लगानी गर्नेलाई लक्ष्य गर्दै उक्त नीति लिइएको बताए ।
‘व्यावसायिक उद्देश्यले लिइने यस प्रकारको कर्जालाई मौद्रिक नीतिमा तोकिएको सीमाले असर गर्दैन,’ उनले भने, ‘व्यावसायिक प्रयोजनका लागि लिइने कर्जामा हाम्रो सरोकार होइन, तर वित्तीय क्षेत्रमा उपलब्ध स्रोत औद्योगिक क्षेत्रमा सदुपयोग होस् भन्ने मात्रै हाम्रो चाहना हो ।’

गभर्नर अधिकारीले राष्ट्रिय उत्पादन वृद्धिमा केन्द्रीय बैंकको चासो रहने उल्लेख गर्दै औद्योगिकीकरण र रोजगारी सिर्जनाका क्षेत्रमा राष्ट्र बैंकले सधैं सहयोग गर्ने बताए । राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम चार करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिबाट गरेको थियो ।

गभर्नर अधिकारीले राष्ट्र बैंकले विभिन्न सुधारका काम अघि बढाएको भन्दै त्यसै अनुसार कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) कार्यान्वयनमा ल्याएको जानकारी दिए । उनले बैंकिङ क्षेत्रलाई विशुद्ध बैंकिङमा लगाउने नीति केन्द्रीय बैंकले लिएको बताए ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउन र पुनरोत्थान गर्न राष्ट्र बैंकले गत वर्ष लिएका नीतिले प्रभावकारी काम गरेको उल्लेख गरे । उनले तरलताको उपलब्धता र ब्याजदर चिन्ताको विषयको रुपमा रहेको भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरे ।

परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले अब डिजिटल बैंकिङतर्फ अघि बढ्नुपर्ने बताए । परिसंघका बैंकिङ समितिका सभापति अनलराज भट्टराईले केन्द्रीय बैंकले लिएका नीतिले अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय