काठमाडौं– अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा मंगलबार जारी गरेको विशेष बुलेटिनमा उत्तर–पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना उल्लेख गरिएको छ ।

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश नं १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको औंल्याएको छ ।

राति देशभर सामान्य बदली र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८.८ डिग्री र अधिकतम तापक्रम २९.५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६.५ डिग्री र सबभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५.५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय