काठमाडौं– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेकी छिन् । कतारबाट काठमाडौं आएकी उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि छन् ।

कतिपयले सुमारको नेपाल भ्रमणलाई एमसिसीको पक्षमा दबाब सिर्जना गर्ने प्रयासको रुपमा हेरेका छन् ।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम

च्यालेन्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्त्वका साथ हेरिएको छ ।

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट ५० अर्ब सहयोग प्राप्त हुनेछ ।

यस परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेसन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् ।

तर नेपाली समाज भने एमसिसीका विषमा दुई खेमामा बाँडिदा विवाद चुलिएको छ । एकाथरीले एमसिसी अमेरिकाको सैन्य रणनीतिको एक हिस्सा भएको र चीनलाई घेराबन्दीमा पार्ने उद्देश्यले ल्याइएको भन्दै यसले नेपालमा अमेरिकी सैन्य हस्तक्षेपसम्म निम्त्याउने बताइरहेका छन् भने अर्काथरीले यसलाई त्यस्तो नभई अमेरिकाले अति विपन्न मुलुकलाई प्रदान गर्ने सहयोगको रुपमा अर्थ लगाइरहेका छन् ।

एमसिसीलाई लिएर अमेरिकी दूतावास अगाडि विरोध प्रदर्शन समेत भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनमा एमसिसीको विरोध गरिरहेको छ । सत्ता गठबन्धनका दलहरुबीचमै पनि यस विषयमा मतैक्य छैन । सरकारको प्रमुख घटक नेकपा एकीकृत (माओवादी केन्द्र) यसले एमसिसीका सर्तहरु सच्याएर मात्रै संसदबाट पारित गर्नुपर्ने बताइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय