काठमाडौं– भदौ पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ । तथ्यांक अनुसार भदौ ३ गतेको तुलनामा बिहीबार सक्रिय संक्रमितको संख्या करिब ३० प्रतिशतले घटेको छ ।

भदौ पहिलो हप्ताको तुलनामा सक्रिय संक्रमित उल्लेखनीय रुपमा घट्दै गएको देखिएको छ । भदौ ३ गते सक्रिय संक्रमित ४० हजार ५०० जना थिए । त्यो संख्या घटेर बिहीबार २८ हजार ६७८ जनामा आएको छ । यसरी हेर्दा सक्रिय संक्रमितको संख्यामा करिब ३० प्रतिशतले कमी आएको छ ।

यसैगरी, भदौ ३ गते १६ हजार ४३८ जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस दिन कोरोना जित्नेको संख्या दुई हजार १२६ थियो ।

यो संख्यामा बिहीबार गिरावट आएको छ । बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा ११ हजार ९४४ जनाको पिसिआर परीक्षणमा एक हजार २७१ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।

यता पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला घटेर १६ कायम भएको छ भने बिहीबार एक हजार ८४५ जना संक्रमणमुक्त भएका छन् । बिहीबारसम्म सात लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९४.९ प्रतिशत पुगेको छ । पछिल्लो समय मुलुकभरि नै संक्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् ।

नेपाल सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेको छ । यसबाट नागरिकमा रोग प्रतिरोधात्मक क्षमता बढ्न गई संक्रमण घटेको चिकित्सकको भनाइ छ ।

नेपालमा बिहीबारसम्म ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्ण खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता संक्रमण दरमा कमी आएको जानकारी दिए । उनका अनुसार परीक्षण गराएकामध्ये संक्रमण हुने दरमा कमी आएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार त्यहाँ पहिलेभन्दा संक्रमित भएर उपचार गराउन आउने बिरामीको संख्या घटेको छ । सो अस्पतालमा सघन उपचार कक्ष एवं अक्सिजन चाहिने बिरामी भर्ना हुन कमै मात्र आएका छन् । धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र रोग प्रतिरोधात्मक क्षमता पनि बढेकाले संक्रमण घटेको चिकित्सकहरुको भनाइ छ ।

यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पनि पहिलेको तुलनामा बिरामीको संख्या घटेको छ । एक महिनाअघि दैनिक २० जना बिरामी आउने गरेकामा अहिले दैनिक ५–६ जना मात्र आउने गरेका छन् । नेपालमा हालै गरिएको एक सर्वेक्षणमा ६८.६ प्रतिशत मानिसमा रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) रहेको पाइएको थियो । यस्तै, एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशतमा र पूर्णमात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी बनेको मन्त्रालयले जनाएको छ । नेपालमा ५० वर्षभन्दा माथिका प्रायः सबैले खोप लगाइसकेका छन् ।

सरकारी तथ्यांक अनुसार नेपालमा दैनिक एक लाख जनाले खोप लगाइरहेका छन् । नेपालले कोभ्याक्स सुविधा, अनुदान र खरिद गरेर अहिलेसम्म एक करोड ३३ लाख खोप ल्याइसकेको छ । कोरोना भाइरसको संक्रमण रोक्ने उपायमध्ये भरपर्दाे खोप देखिएकाले सरकारले यसमा प्राथमिकता दिएर खोप भित्र्याएको छ ।

जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले हाल संक्रमण दर कम भएको तर सभा, सम्मेलन जस्ता गतिविधिले फेरि संक्रमण बढ्न सक्ने खतरा रहेको भन्दै यसका लागि सबैले ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय