काठमाडौं– सोमबार देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
‘अब मनसुनको समय सकिन केही समय मात्र बाँकी रहेकाले मनसुन विस्तारै कमजोर हुदै जाने क्रममा रहेको छ,’ मौसमविद् अर्यालले भने ।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका भूभागमा आंशिक बदलीका साथै गण्डकी, कर्णाली र सुदूरपीश्चम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य बदली रही देशका धेरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । राति देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जनका साथै हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २०.२ डिग्री र अधिकतम तापक्रम ३०.८ सेल्सियस रहेको छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १३.८ र सबैभन्दा धेरै सिमराको अधिकतम तापक्रम ३६.० डिग्री सेल्सियस छ ।









